रियलको टिम पूरा, रोनाल्डोको जर्सी मारियानोलाई

“एजेन्सी, भदौ १६ । क्रिस्टियानो रोनाल्डोले यसै सिजन रियल मड्रिड छाडे । उनी युुभेन्टस गएपछि अब रियलको भविश्य कस्तो होला ? उनको ठाउँमा कसलाई भित्र्याउला ? धेरैको चासो थियो ।
सुरुमा खबरहरु बाहिरिए अब रोनाल्डोको जर्सी लुका मड्रिकले लगाउने छन् । तर रियलले त्यसलाई गलत सावित गरिदियो । क्लबमा भर्खरै अनुबन्धित भएका मारियानो डियाजलाई क्रिस्टियानो रोनाल्डोको आइकोनिक जर्सी नम्वर ७ प्रदान गरेको छ ।
सान्टियागो बर्नबेउमा शुक्रबार मारियानो डियाजलाई सार्वजनिक गर्दै रोनाल्डोले पहिरिने रिक्त रहेको जर्सी नम्वर ७ प्रदान गरेको हो ।
सुपरस्टार रोनाल्डो एक महिनाअघि इटालियन क्लब युभेन्टस गएपछि रियलमा जर्सी नम्वर ७ रिक्त थियो । रियलले आफ्नो पूर्व खेलाडी मारियानोलाई लियोनबाट ३० मिलियन पाउन्डमा पाँच वर्षको लागि अनुबन्ध गरेको हो ।
स्पेनका २५ वर्षीय डियाजले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रदान गरेको जर्सी नम्वर ७ सहित परिवारसँगको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेको छन् ।
रियलका प्रशिक्षक जुलेन लुप्टेगुई डियाजको अनुबन्धमा खुशी छन् । उनले मारियानोको अनुबन्धसँगै रियलको टिम पूरा भएको बताएका छन् ।
उनले लियोनमा २० गोल गर्न सफल भएका थिए । डियाजले लेगानेसविरुद्धको खेलबाट स्पेनिस ला लिगामा डेब्यु गर्ने बताइएको छ । यसअघि पनि डियाजले लेगानेसविरुद्धको खेलबाट नै रियलको सिनियर टिममा डेब्यु गरेका थिए ।”








