ओलीको सपनामा मोदीको लगानी


“काठमाडौँ, भदौ १६ । वीरगन्ज–काठमाडौँ रेल निर्माण प्रक्रियाको पूर्वअध्ययन गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिम्स्टेक पछि भएको द्विपक्षीय भेटमा भारतले नेपाललाई बनाइदिने भनिएको वीरगन्ज–काठमाडौं रेलवे लाइनको अध्ययन सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको हो ।
ओलीको गत चैतको भारत भ्रमणमा दुई देशबीच रक्सौल–काठमाडौं विद्युतिय रेल निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधूसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार रेलमार्ग काठमाडौंको चोभारसम्म ल्याउने गरी अध्ययन गरिनेछ ।
एक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार गरी पाँच वर्षभित्र रेल निर्माण सम्पन्न गर्ने सहमति अनुसार पहिलो सहकार्य भएको हो । रेलगमार्ग निर्माण भारतीय लगानीमा हुने छ ।
यसका लागि अध्ययन गर्न कोंकण रेलवे कर्पोरेशन लिमिटेडले नेपाल सरकारको परार्मशमा रेलवेको इन्जिनियरिङ तथा ट्राफिक क्यवस्थापन अध्ययन गर्ने जिम्मेवारी दिइएको भारतीय दूतावासको विज्ञप्तीमा उल्लेख छ ।
बिम्स्टेक सम्मेलन सकिएपछि नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि रेलमार्ग अध्ययन सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताले वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया एउटा नयाँ बिन्दुमा पुगेको भौतिक योजना सूचिव अधिकारीले जानकारी दिए । यो रेलमार्गले अब व्यावहारिक तहमा गति लिनेछ । यसको काम अघि बढ्ने विश्वास गरिएको छ । पूर्व सम्भाव्यता अध्ययन सकिएपछि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन निर्माण हुनेछ ।
अहिलेको सम्झौता इञ्जिनियरिङ तथा ट्राफिक सर्भे हो । रक्सौलबाट वीरगन्ज हँुदै काठमाडौं जोड्ने उक्त रेलमार्गले दुई देशको जनताबीचको सहकार्यलाई थप बल पुग्ने सम्झौतापछि मोदीले उल्लेख गरे । रेलमार्ग बढीमा एक सय ३० किलोमिटर लामो हुनेछ भने अधिकांश स्थानमा टनेल बन्नेछ ।
नेपालले अर्को छिमेकी चीनसँग केरुङ–काठमाडौं रेलमार्ग निर्माणको अध्ययन पनि थालेको छ । चिनियाँ प्राविधिकले प्रारम्भिक अध्ययन गरिसकेका छन् । उनीहरूले पनि आगामी नौ वर्ष भित्र काठमाडौंसम्म रेल ल्याउन सक्ने बताइसकेका छन् ।
भुगोलको कारण चिनियाँ रेल निर्माण अत्याधिक महंगो पर्ने भन्दै नेपालले चिनियाँ अनुदान खोज्दै आएको छ । रेलमार्ग सम्भाव देखिएपनि महंगो हुँदा नेपालले कूटनीतिक पहल गरिरहेको छ । केही दिन पहिले नेपाली अधिकारी रेलमार्गका विषयमा चिनियाँ अधिकारीसँग द्विपक्षीय छलफल गरेका थिए ।
“
