सक्कली बाढीपीडितका नाममा आएको रकम नक्कली बाढीपीडितलाई
“
प्रेम गिरी/दुहवी, भदौ १५ । दुहवी–६ वडा कार्यालयमा अनियमितता भएको भन्दै स्थानियवासीहरुले वडा कार्यालय घेराउ गरेका छन् ।
बाढी पीडितको नाममा आएको रकम आफ्ना नजिकका कार्यकर्ता र आसेपासेलाई बाँडेको भन्दै दुहवी–६ का स्थानियवासीहरु आन्दोलित भएका हुन् । स्थानीयहरुले बाढीपीडितको नाममा आएको रकममा चलखेल भएको भन्दै शुक्रबार ६ नम्वर वडा कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले विरोध प्रदर्शन गर्दै बाढीले क्षति पुर्याएको यो क्षेत्रका लागि आएको बाढीपीडितको राहत रकम जनप्रतिनिधिले आफ्ना नजिकका आसेपासे कार्यकर्ता र आफन्तलाई समेत नक्कली बाढीपीडित बनाइ रकम कुम्ल्याएको भन्दै दुहवी नगरपालिकामा प्रर्दशन समेत गरेका थिए ।
स्थानीय कुन्दन पासवानले भने, ‘वास्तविक बाढीपीडितहरुले राहत रकम नपाइरहेका बेला जसको दुहवी –६ मा घर छैन उसलाइ कसरि वडाध्यक्षले सिफारिस गरिदियो ? यो त अति भयो’, उनले भने ‘घरै नभएकाहरु कसरी बाढीपीडित हुन्छन् ? यो त जनप्रतिनिधिहरुको मिलेमतो भएको प्रष्टै देखिएको छ, भ्रष्टाचारको चरमसिमा नाघ्यो ।’
जनप्रतिनिधिले आफ्ना छेउछाउका कार्यकर्ताहरुलाई नक्कली बाढीपीडित बनाइ वास्तविक बाढीपीडितहरुलाई थप पीडा पुर्याएको भन्दै शुक्रबार दुहवी नगरपालिकामा तालाबन्दी गर्ने भन्दै स्थानीयहरु आक्रोसित भएका थिए ।
बाढी पिडितको नाममा आएको उक्त रकम अनियमित तरिकाले वितरण भएको स्थानीय नेता रहिम मियाँको आरोप छ ।
शुक्रबार दुहवी नगरपालिका २ घण्टाजसो तनावग्रस्त रहेको थियो । दुहवी नगरपालिका तनावग्रस्त अवस्थामा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो । स्थानियवासीहरु आक्रोसित भएपछि दुहवी–६ का वडाध्यक्ष मुन्ना हलुवाईले बाढीपीडितको लागि आएको राहत रकमको बारेमा बोलेका थिए ।
वडाध्यक्ष मुन्ना हलुवाईले हातको औंला समेत बराबर नभएको भन्दै केही प्राविधिक त्रुटी भएको हुन सक्ने हुँदा आगामी दिनहरुमा सच्याएर जाने बताए ।
साथै उनले आफ्नो वडामा ३०० भन्दा बढी बाढीपीडित भएको तर दुहवी नगरपालिकाले ६ नम्वर वडामा २७ जनालाई मात्र राहत रकम उपलब्ध गराउने भनेपछि बाढीपीडितको डाटा संकलन गर्दा समस्या भएको बताए ।
बाढीपीडितको रकमको विषयमा दुहवी–६ का वडा सदस्य इरफान मियाँले यो सबै समस्याको जड दुहवी नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रहेको बताए । उनका अनुसार धेरै बाढीपीडितको ठाउँमा थोरैलाई राहत बाँड्दा ठुलो समस्या देखिने आफुले बताएपनि नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले लगाए ।
यस विषयमा दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले दुहवी नगरपालिकाभरी ८ हजार भन्दा बढी बाढीपीडित भएपनि ५२३ जनाको मात्र राहत रकम आएकोले राहत रकम फिर्ता पठाउनु भन्दा थोरैले भएपनि दुहवीवासीले राहत रकम पाउन् भन्ने उद्देश्यले धेरै क्षती भएका वास्तविक बाढीपीडितहरुको पहिचान गरि बाँड्न लगाएको बताए ।
दुहवी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक प्रमुख विजय कुमार चौधरीले सोमबार दुहवी नगरपालिकाका प्रमुख आएपछि दुवै तर्फबाट वार्ता टोली गठन गरि छलफल गरेर निरीक्षण समिति बनाइ वास्तविक बाढीपीडितहरुको पहिचान गरिने भनेपछि विरोध प्रदर्शन शान्त भएको हो ।
“