छाडा चौपायाका कारण धनगढीबासी हैरान

कैलाली , साउन ११ । कैलालीको धनगढी नगर क्षेत्रमा छोडिएका छाडा चौपायाले नगरबासीलाई हैरान बनाएको छ । गाइ धनीले दूध दुहेर छोड्ने प्रवृति र चौपाया व्यवस्थापनका लागि गौशाला तथा काञ्जी हाउस नहुँदा नगरबासी हैरान भएका हुन् ।

जथाभावी छोडीएका चौपायाका कारण सडक दुर्घटनाको शिकार हुनु परेको स्थानीयको गुनासो छ । नगर क्षेत्रमा बसेर व्यापार व्यवसाय गर्नेदेखि आवतजावत गर्ने सबैलाई छाडा चौपायाले आजित बनाएको ठेला व्यवसायी कसिम अन्सारीले गुनासो गर्नुभयो । यस्तै, छाडा चौपायाले खेतबारीमा लगाएको अन्नबाली समेत खाइदिने गरेको नगरबासी बताउछन् ।

राती सुतेको समयमा चौपायाको हुल नै आएर खेतमा लगाएको धान सखाप पार्ने गरेको धनगढी–१ का बहादुर पार्किले गुनासो गर्नुभयो । साघुँरो सडक त्यहि माथि गाइवस्तु हुँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढेको व्यवसायी केशवराज जोशीको भनाइ छ । दिनहुँ छाडा चौपायाको संख्या बढेसँंगै नगरक्षेत्रको सौन्दर्यता नै बिग्रीन थालेको छ ।

यता धनगढी उप–महानगरपालिकाले भने बढ्दै गएका छाडा चौपायाको व्यवस्थापनका लागि काम भइरहेको बताएको छ । धनगढी उप महानरपालिकाका मेयर नृपबहादुर वडका अनुसार एक महिना भित्र चौपायाको समस्या समाधान हुनेछ । यसको लागि फूलबारी र उर्मामा रहेका गौशालाको सुधार गरिन लागेको नगर प्रमुख वडले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *