दुल्लु दरबार अब भग्नावशेष मात्र


“
दैलेख भाद्र, १५ । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार अब भग्नावशेष मात्र देखिन थालेको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् । तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाहले बताए ।
नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०३ अर्थात वि.सं १०३८ हो जसलाई त्यस समयका ‘कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपाल’को कालखण्डको भाषालिपि भनिएको छ ।
नेपाली भाषाको उत्पत्ति जुम्लाको सिञ्जाबाट भएको भए पनि लिपिबद्ध गरिएको इतिहास भने दैलेखसँग जोडिएको मानिन्छ । अहिले दुल्लु नगरपालिकामा रहेको पौवा दरबारलाई साँस्कृतिक सङ्ग्रहालयका रुपमा बिस्तार गरिएको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
दैलेखमा एक हजार बढी मूर्तअमूर्त सम्पदा छन् । योगी नरहरिनाथ पछाडिका विज्ञले यसको पुर्नलेखन गरेका छैनन् । दैलेखका पत्रकारले इतिहासको पुर्नलेखन भनेर अभियान थालेको भए पनि स्थानीय तहले यसतर्फ ध्यान नदिएका कारण धेरै बस्तु हराउँदै र मासिँदै गएको नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय सचिव विष्णु शर्माले बताए ।
दुल्लुमा दुई शिलालेख भएका स्तम्भका बीचबाट मोटरबाटो बनाइएको र यो दृश्य देख्दा लाग्छ, यी शिलालेखले पनि कुन दिन कसको घरको भित्तो वा बारीको पर्खाल बनेर उभिनुपर्ने हो । कुनै युगका साक्षी, ऐतिहासिक महत्वका सम्पदा यी शिलालेखका नजिकै फोहर थुप्रिएको हुन्छ ।
शिलालेखको महत्व बुझेका मानिस यिनलाई हेर्न आउँदा गर्व गर्नुभन्दा दुःखी भएर फर्किने गर्दछन् । केन्द्रीय सरकार र स्थानीय तहको उदासीनताले ‘क’ र ‘ॐ’ शब्दको अस्तित्व सङ्कटमा छ । ढुङ्गाको आधा भाग फुटिसकेको छ । अहिले अहिले ढुङ्गालाई फलामे बारले घेरिएको पाईन्छ ।
नरहरिनाथले जिल्ला भ्रमणका क्रममा इतिहास खोतल्ने बेला दैलेखमा भाषालिपिको इतिहास रहेको जानकारी गराएपछि मात्र मानिसहरूलाई यसको ज्ञान भएको हो ।
विसं १०३८ को साहुपाल अडैद्वारा लिखित शिलास्तम्भबाट प्रारम्भ भएको नेपाली भाषाको शुरुवात बारेमा भिन्न–भिन्न बहस भएको भाषाविद् प्रा.डा. मधुसूदन गिरीले बताए । दुल्लुमा भाषालिपि सँगै रहेको शाके १२७९ अर्थात विसं १४१४ को ‘कृति खम्ब’ पनि सँगै छ ।
३२ थरको उद्गम
दैलेखका ३२ स्थानबाट ३२ थर उत्पति भएको मानिन्छ । कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेललगायत थरको उत्पति भएको विभिन्न वंशावलीमा उल्लेख भएको पाईन्छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दैलेख आउनुभएका बेला नेपा गाउँ (नेपालको उत्पतिस्थल) मा रहेको तियाडीबाट ‘पुर्खाको माटो’ काठमाडौंँ लिएर गएको स्थानीयवासी माधव खनालले जानकारी दिए । दाहालहरूले दह भन्ने स्थानलाई पुर्खौली थलो मान्दै पुराणसमेत लगाएका छन् । कट्टी भन्ने स्थानमा काठमाडौंँबाट विभिन्न थरका व्यक्ति आफ्नो पुर्खाको जन्मथलो भन्दै घुम्न आउने गरेको स्थानीयवासी शान्तिप्रसाद शर्माले बताए ।
दैलेखको पञ्चकोशी इतिहास बोकेको क्षेत्र हो । अझ कोटिला, श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवीलगायत क्षेत्रले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाएका छन् । सयौँ वर्षदेखि पञ्चकोशी क्षेत्रका विभिन्न स्थानमा ज्वाला बलिरहेका छन् ।
वैश्वानर पुराणमा उल्लेख भएबमोजिम महादेवले कामदेवलाई भष्म गर्दा उनको नेत्रबाट निस्किएको ज्वालालाई एकत्रित गरी फाल्दा ज्वालाको उत्पत्ति भएको जनविश्वास छ । त्यही आधारमा पञ्चकोशी क्षेत्रमा हरेक वर्ष शिवरात्रिमा मेला लाग्ने गर्दछ ।
खानी तथा भूगर्भ विभागको अध्ययनमा यो पेट्रोलियम पदार्थ भएको क्षेत्र पनि हो र त्यही पदार्थका कारण ज्वाला निस्किएको हो । दैलेखका ४० सम्पदा खानी तथा भूगर्भ विभागको सूचीमा सूचीकृत छन् । तिनीहरूको वर्गीकरणका आधारमा संरक्षणमा पहल गरिने विभागले जनाएको छ ।
श्रीस्थानमा शाके १७५७ को शिला अभिलेख छ । शिरिस्थान मन्दिरमा शाके १७५९ मा चढाइएका घण्ट अहिले पनि यहाँ देख्न सकिन्छ । पुराना मूर्ति र घण्ट धेरैजसो चोरी भइसकेका छन् ।
पादुका मन्दिरमा रहेको शाके ११३६ को जैन तीर्थङ्कर महावीरको मूर्तिको विशेष महत्व रहेको पाईन्छ । त्यस्तै सिञ्जा साम्राज्यका राजा अशोक चल्लका समयमा स्थापित साउना कार्की र साउका कक्र्यानी अभिलेखसहितको स्तम्भले पञ्चकोशी क्षेत्रको महत्व झनै बढाएको उद्योागी नरेन्द्र थापाले बताए ।
सदरमुकाममा रहेका पञ्चदेवल, कोतगढीलगायत स्थानसँगै दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने महावु धामले पनि धार्मिक महत्व बोकेको छ ।”
