प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए सपथ

काठमाडौँ, माघ २९ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ गराएकी हुन् ।
एमाले संसदीय दलका नेता रहेका पौडेल संघीय नेपालका सात प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पहिलो व्यक्ति हुन् ।
संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।संविधानअनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

सपथपछि मुख्यमन्त्री पौडेलले सहिद स्मारकमा पुष्प गुच्छा अर्पण गरी शहीदप्रति सम्मान गरेका थिए ।
१५ चैत्र २००२ मा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइँसराईसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा भएका हुन् ।
पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाका मेयर निर्वाचित भएका थिए । उनकै पालामा हेटौंडा देशकै नमूना नगरपालिका बन्यो । नेपालमै सबैभन्दा पहिलो प्लास्टिक निषेधित नगरपालिका हेटौंडा नै हो ।
हेटौंडाको हरित क्रान्ति तथा फराकिला र व्यवस्थित सडक उनकै पालामा बनेका हुन् । हेटौंडावासीले उनलाई विकासप्रेमी नेताका रुपमा चिन्नुको कारण पनि त्यही हो । उनी मेयर भएको बेला उनकै पहलमा बनेको शहीद स्मारक नेपालकै उत्कृष्ट मानिन्छ ।








