जासुसी गरेको आरोपमा अष्ट्रेलियाली चलचित्र निर्मातालाई छ वर्ष जेल सजाय

नोम्पेन्ह,  भदौ १५ । अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ ।

अष्ट्रेलियाली ती चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ ।

उनलाई गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो । शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको भन्दै छ वर्षको जेल सजाय सुनाएको हो ।

गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी र्यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए ।

यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप उनलाई लगाइएको थियो ।

गत वर्षको जुनदेखि थुनामा राखिएको उनको मुद्दाको सुनुवाई यसै हप्ता शुरु भएको थियो । छ दिनको सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उनलाई छ वर्षको जेल सजाय सुनाएको हो ।

फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई छ वर्षको जेल सजाय तोकिएको उक्त अदालतले बताएको छ ।

उनले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर सो आरोप रिक्सटनले भने अस्वीकार गरेका छन् ।

अदालतमा सुनुवाई भइरहेकै बेला उनले चर्को स्वरमा भनेका थिए । विश्वासै गर्न नसकिने, मैले क्याम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरेँ ?

चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलका विरुद्ध क्याम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिए ।

चलचित्र निर्माता रिक्सटन ६९ वर्षको छन् । उक्त फैसला सुनाइएपछि उनले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *