कञ्चपुरमा फेरि अर्की किशोरीमाथि सामुहिक बलात्कार


“
काठमाडौँ, भदौ १५ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा फेरी एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् ।
बिहीबार राति २ बजे कञ्चनपुरको बेल्डाँडीकी एक १६ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भएकी हुन् ।
इलाका प्रहरी कार्यालय बेल्डाँडीमा किशोरीका आफन्तले उजुरी दर्ता गराएका हुन् । उक्त उजुरीमा चार जनाले सामूहिक बलात्कार गरेको उल्लेख गरिएको छ ।
कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायत घटनाबारे बुझ्न आफै बेल्डाडी गएका छन् । ‘म आफैं अहिले घटनास्थलमा आएको छु’, उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ उनले भने । उनका अनुसार प्रहरीले अहिले पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको छ ।
कडायतले पीडक ‘आइडन्टिफाइड’ रहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताए । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको बेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए ।
“
