प्रधानमन्त्रीलाई निर्मलाका सहपाठीको पत्र– हाम्री साथीको हत्यारालाई कहिले कारबाही हुन्छ ?

“
काठमाडौँ, भदौ १५ । भीमदत्त २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्याबारे निर्मलाका सहपाठीले प्रधानमन्त्रीलाई एक पत्र लेखेका छन् ।
घटना घटेको महिना बितिसक्दा पनि हत्यारालाई कारबाही नभएको भन्दै निर्मलाका सहपाठीले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।
पत्रमा उनीहरुले हाम्री साथीको हत्यारालाई कहिले कारबाही हुन्छ ? भन्ने प्रश्न राखेका छन् । उनीहरुले छिटोभन्दा छिटो हत्यारालाई पक्राउ गरेर कारबाही गर्न पत्रमार्फत् माग समेत गरेका छन् ।
यस्तो छ निर्मलाका सहपाठीले लेखेको पत्रः
सम्माननीय प्रधानमन्त्रीज्यू,
सिहंदरबार, काठमाडौं ।
विषयः हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ ?
उपरोक्त सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू, भिनपा २ उल्टाखाम कञ्चनपुरमा बस्ने हाम्री साथी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना भन्दा बढी समय बित्दा पनि अपराधी पत्ता नलागेकाले दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाएर सजायको माग गर्दै निर्मलाले न्याय पाओस् भन्ने चाहन्छौं ।
निर्मलाका सहपाठीहरु
जानकी भट्ट
गीता जोशी
लक्ष्मी बडू
पूजा चन्द
निर्मला स्थानीय सरस्वती मावि महुलीयामा कक्षा ९ मा अध्ययन गर्दै आएकी थिइन् । निर्मलाको मृत्युपछि विद्यालय समेत शोकमै छ ।
निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ ।
कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन् ।
उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो ।यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो ।
म्याद थप गरिएसँंगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ ।
“








