रामोस बने युरोपकै उत्कृष्ट डिफेन्डर, नाभास गोलरक्षक


“एजेन्सी, भदौ १५ । कोस्टारीका तथा रियल मड्रिडका गोलरक्षक कलर नाभास उत्कृष्ट गोलरक्षक चुनिएका छन् । उनले ब्राजिलका गोलरक्षक एलिसन बेकर र इटालियन गोलरक्षक जियानलुइजी बुफोनलाई पछाडी पारे ।
रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन नाभासले महत्त्वपूर्ण भूमिका खेलेका थिए । नाभासले रक्षात्मक रुपमा बलियो प्रस्तुति दिएपछि विपक्षी आक्रमण विफल पार्न रियललाई सहज भएको थियो ।
च्याम्पियन्स लिगका ११ खेल खेल्ने क्रममा उनले १३ गोल मात्र खाए । यसक्रममा २ क्लिनसिट पनि उनको नाममा रहयो । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।
नाभासले मतदानमा २ सय २२ अंक हासिल गर्दै पहिलो स्थान हासिल गरेका हुन् । दोस्रो स्थानमा हाल लिभरपुलमा रहेका गोलरक्षक एलिसन बेकर १ सय ९७ अंकसहित छन् । उनले गत सिजन एएस रोमाबाट खेलेका थिए । तेस्रो स्थानमा बुफोनको ९२ तथा चौथो स्थानका मार्क आन्देर टेर स्टेगनले ४७ अंक मात्र जोड्न सके ।
यस्तै स्पेन तथा रियलका कप्तान सर्जियो रामोस उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् ।
रामोसले मतदानका क्रममा १ सय ८४ अंक जोडेका थिए । दोस्रो स्थान हासिल गरेका भरानेले १ सय ६७ अंक जोडे भने तेस्रो स्थानका मार्सेलोले १ सय ४५ अंक प्राप्त गरे ।
लुुका मड्रिच सर्वोत्कृष्ट खेलाडी चुनिँदा क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फरवार्ड बनेका छन् मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ ।
“
