रेनकोट बोक्नुहोस् है लगातार पानी पर्ने सम्भावना छ

“
काठमाडौं, १४ भदौं । देशभर नै आगामी तीन दिनसम्म धेरै स्थानमा हल्का वर्षा देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन् ।
आज दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका अधिकांश स्थानमा आज राति सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
देशभरि नै भोलि शुक्रबार आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभाग ले जनाएको छ ।
पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको महाशाखाको पछिल्लो विवरणअनुसार रहेको छ । ओखलढुङ्गामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षा भएको र आज काठमाडौंको अधिकतम तापक्रम २९.२ र न्यूनतम तापक्रम २३.९ रहेको छ ।
“








