एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हारः एसियाकप खेल्ने संभावना कम बन्दै


“
काठमाडाैं, भाद्र १४ । आगामी एसिया कप क्रिकेट खेल्ने नेपालको सम्भावना लगातार दोस्रो हारसँगै झिनो बनेको छ। ६ टोली सहभागी यस छनोट प्रतियोगिताबाट एकमात्र टोली छनोट हुने छ। लिग चरणका शीर्ष दुई टोलीबीच हुने उपाधि भिडन्तको विजेता एसिया कपमा पुग्ने छ जहाँ उसले पाकिस्तान र भारतसँग समूहगत चरणमा खेल्ने छ।
पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटले पराजित भएको नेपाल आज यूएईसँग ७८ रनले निराश भयो। दुई सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७६ रन जोड्यो। नेपालको पालीमा सुबास खकुरेलले ५० र दीपेन्द्रसिंह एेरीले ४० रन बनाए। कप्तान पारस खड्काले १६ रन जोडे।
उपकप्तान ज्ञानेन्द्र मल्ल ४,सागर पुन ३,आरिफ शेख तीन र रोहित पौडेल ९ रन जोडेर आउट भए। ४३ रन जोड्दा तीन विकेट गुमाएको नेपालका सुबास र दीपेन्द्रबीच चौथो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो। तर चौथो विकेटका रुपमा सुबास आउट भएसँगै नेपाल थप संकटमा परेको थियो। अन्तिम समयमा सोमपाल कामी र बसन्त रेग्मीले नवौं विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सोमपालले अविजित २७ र बसन्तले १२ रन बनाए।
यसअघि यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ५४ रन जोड्यो। यूएईका दुई जना ब्याट्सम्यानले अर्धसतक बनाए। नेपालका बलर सन्दीप लामिछानेले चार विकेट लिए। पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटले पराजित भएको नेपाल दबाबमा छ। नेपालले शनिबार मलेसियासँग खेल्ने छ। त्यसपछि सिंगापुर र हङकङसँग खेल्ने छ। बाँकी तीनवटै खेल जितेमात्र नेपालको शीर्ष दुईमा पर्ने सम्भावना रहने छ।
“
