सुवेदी परिवारबाट अस्पताललाई डायलाइसिस उपकरण

“
बेनी, भाद्र १४ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा दिवंगत आमाको नाममा बेनी अस्पताललाई रु ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ ।
उनले मिर्गाैला पीडित रोगीको उपचारका लागि सो उपकरण उपलब्ध गराएका हुन् । अस्पतालमा बुधवार आयोजित कार्यक्रममा सुवेदीले परिवारका तर्फबाट माधव र उहाँकी धर्मपत्नी सपना सुवेदीले अस्पतालका निमित्त प्रमुख डा. अनिल पाण्डे र अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई ती उपकरण हस्तान्तरणका हुन् ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका सहयोगदाता माधव सुवेदीले आफ्नो आमा मिर्गौलाबाट पीडित भई लामो समयसम्म उपचार गराउनुपरेको संझना गर्दै दुर्गम र पिछडिएका क्षेत्रका गरीब र विपन्न वर्गका मिर्गौला पीडितको सहज उपचार हुन सकोस् भन्ने उद्देश्यले ती उपकरण सहयोग गरेका बताए ।
‘मिर्गौला रोगको उपचार जटिल र महङ्गो छ, भएको कारण आर्थिक विपन्नताका कारण शहरी क्षेत्रमा पुगेर उपचार गराउन नसक्दा उपचारबाट बञ्चित हुन परेकोले यस्तो हुन नपरोस् भन्ने हाम्रो चाहना छ, यो उपकरणको पूर्ण सदुपयोग होस् भन्ने हामीले चाहेका छौँ’, सहयोगदाता सुवेदीले बताए ।
यस उपकरणले मिर्गौला पीडितको उपचार सुरु गर्न आधार बनेको अस्पतालका निमित्त प्रमुख डा. पाण्डेले बताए । उहाँले जनशक्तिको व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालीम समेत दिईसकेकोले छिट्टै डायलाइसीस सेवा शुरु हुने जनाए ।
रु १३ लाखमा अस्पतालले पनि डायलाइसीका लागि प्रयोग हुने आरओ उपकरण खरिद गरिसकेको अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष रेग्मीले बताए ।
“








