धरानमा तीजको अबसरमा महिला उद्यमी मेला हुने

“
धरान, भाद्र १४ । महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा महिला उद्यमी मेला हुने भएको छ ।
महिला सञ्जाल धरानको आयोजनामा धरानमा यही भदौ १७, १८ र १९ गते हुने महिला उद्यमी मेलामा महिलाहरुले उत्पादन गरेका वस्तुहरुको प्रबद्र्धन तथा खरिद विक्री गरिने बुधबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई बजारीकरण गर्दै स्वरोजगारका संम्भावनाहरु सृजना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताइन् ।
‘तिजमा नाचगान भोजभतेर मात्र गर्नुपर्छ भन्ने मान्यतालाई चिर्न र महिला उद्यामीहरुको सिप क्षमतालाई ब्यवसायीकरण गर्न यसपटक तिजको अवसरमा महिला उद्यमी मेलाको आयोजना गरिएको हो ।’ पत्रकार सम्मेलनमा अध्यक्ष राईले बताइन् ।
महिला उद्यमी मेलामा महिला उद्यमीले उत्पादन गरेको सामानलाई एक अर्काबीचमा खरिद बिक्री गरी प्रयोग गर्ने कार्यक्रम रहेको छ ।
मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरु, जुत्ता चप्पल, साडी, कुर्ता, हाते झोलाहरु, अर्गानिक तरकारी, नेपाली खाजाका परिकारहरु, स्थानीय तयारी खाद्यान्न सामाग्रीहरु गरेर ३० वटा स्टल रहने छन् ।
“








