एसिया कप क्रिकेटः नेपाल ओमानसँग ७ विकेटले पराजित

“
काठमाडौँ, भदौ १३ । मलेसियाको क्वालालम्पुरमा भएको एसिया कप क्रिकेट छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पुरा गर्दै ओमानले जित हासिल गरेको हो । नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो ।
ओमानलाई जित दिलाउनका लागि खावर अलीले नटआउट गर्दै सर्वाधिक ८४ रन बनाए । यस्तै जिसन मक्सुद ४५ रनमा नटआउट रहे । यी दुईले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे ।
वैभव वाटेगावन्करले ४१ , जतिन्दर सिंहले ३० र जीसन मकसुदले अविजित ४५ रन बनाए। अलीले तेस्रो विकेटका लागि वाटेगावन्करसँग ७६ र चौथो विकेटका लागि मकसुदसँग अविजित ७७ रनको साझेदारी गरे।
बलिङमा नेपालका लागि कप्तान पारस खड्काले मात्र १ विकेट लिए । ओमानका २ खेलाडी रनआउट भएका थिए ।
यसअघि वायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ९ विकेटको क्षतिमा २२१ रन बनायो ।
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । उनले बलमा ८४ बलमा ८३ रन जोडे। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिए ।
करण केसीले १० बलमा नटआउट २६, आरिफ शेखले ७४ बलमा ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ९, कप्तान पारस खड्काले ८, सोमपाल कामीले पाँच र सुवास खकुरेलले चार रन बनाए।
नेपालले अब दोस्रो खेलमा भोली युएईसँग खेल्नेछ । युएईले आज भएको खेलमा सिंगापुरलाई पराजित गरिसकेको छ। अर्को खेलमा आयोजक मलेसियाले हङकङलाई हरायो ।
“








