जमिन फाटेपछि बुढानिलकण्ठको गाउँ जोखिममा, सतर्कता अपनाउन बस्ती खाली

रोसन दानी/काठमाडौँ, भदौ १३ । बुढानिलकण्ठ नगरपालिका वडा नं ५ टुसालको बस्ती अविरल वर्षाका कारण पहिरोको जोखिममा परेको छ । उक्त क्षेत्रको कयौँ स्थानमा जमिन धाँजा फाटेको छ भने बनाइएका सडकका पूर्वाधार समेत जोखिममा परेको छ ।

उक्त क्षेत्र पहिरोको जोखिममा रहेको खबर सुन्नासाथ प्रदेश सभा सदस्य दिपक निरौला, बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल, बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष विजय तामाङसहित भूगर्भविदहरुले उक्त क्षेत्रको निरीक्षण गर्दै त्यहाँको स्थितिको बारेमा जानकारी लिएका छन् ।

डाँडामुनि रहेका बस्ती पुरै जोखिममा रहेको छ । उक्त क्षेत्रमा पानी परेसँगै जमिन भासिने क्रम बढेको स्थानीयले बताएका छन् । जमिन भासिन थालेपछि स्थानीय बासिन्दाहरु आफ्नो थलो छोडेर सुरक्षित स्थानमा आश्रय लिईरहेका छन्।

उक्त क्षेत्रमा जमिन भासिदा बिजुलीको खम्बा ढल्नुको साथै ढलान गरेको बाटो समेत चिरा–चिरा परेको छ । माथितिरको जमिन बिस्तारै तल–तल सर्दा कुनै पनि बेला ठुलो संकट निम्तिन सक्ने संकेत देखिएको छ ।

पीडित सुशिला बस्नेतको घरमाथितिर जमिन भासिदा उनको घर बस्नै नहुने गरि पुरै चर्किएको छ ।  ‘अलिअलि पानी पर्नासाथ जमिन भासिन थाल्छ । गाउँलेहरु कहाँ जाने भनेर आत्तिन थालेका छन्’ पीडित सुशिला भन्छिन् ।

तलतिर घर हुनेहरुको राती पनि उठेर पहिरो घरतिर आएको छ कि छैन भनेर हेर्ने दैनिकी बनेको उनी बताउँछिन् । उनले आफ्नो भर्खरै बनाएको चर्किएको घर देखाउँदै सबै सम्पत्ति उक्त घर बनाउँदैमा सकिएको अब के गर्ने भन्ने चिन्ता व्यक्त गरिन् ।

उनले तत्कालको लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइदिन समेत सम्बन्धित पक्षलाई अनुरोध गरेकी छिन् । उक्त क्षेत्र निरीक्षण पश्चात् प्रदेश सभा सदस्य दिपक निरौलाले समस्या समाधानका निम्ति के–के गर्न सकिन्छ भनेर स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए । उनले समस्याको दीर्घकालीन समाधान खोज्न र पीडितलाई उद्धार तथा राहतको तत्काल व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आफूले सकेको सहयोग गर्ने बताए ।

निरीक्षण गर्दा सामान्य क्षति जस्तो देखिने भएपनि त्यसले दीर्घकालीन असर गर्ने उनको भनाइ छ । उनले सो क्षेत्र मानव बस्तीको लागि उचित छ कि छैन त्यो सोच्न पर्ने विषय रहेको उल्लेख गरे । उनले भुगर्भविदहरुको राय सल्लाह अनुसार त्यो ठाउँको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकार तीनै तहसँग समन्वय गर्दै समस्या समाधान गर्नको लागि अघि बढ्न जरुरी रहेको बताए ।

तत्कालको लागि सतर्कता अपनाउन र सुरक्षित हुन समेत स्थानीयलाई उनले अनुरोध गरेका छन् । निरीक्षण पश्चात् संक्षिप्त कुरा गर्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले प्राकृतिक प्रकोप र विपत्तिलाई रोक्न नसकेपनि जोखिम कम गर्नको लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण र त्यहाँका बस्तीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा प्राविधिक टोलीसहित भुगर्वविदहरुसँग छलफल गरिरहेको बताए ।

उनले प्राकृतिक प्रकोपलाई पूर्णरूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सकिने बताए । उनले तत्काल अस्थायी उपाय अपनाउने र वर्षा कम भएपश्चात् तदारुकताका साथ स्थायी संरक्षणको लागि सम्बन्धित विभागसँग सम्वन्वय गरि काम गर्ने आश्वासन दिए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का वडाध्यक्ष विजय तामाङले प्राविधिक टोली र भूगर्भविधको राय सल्लाह अनुसार अघि बढ्ने बताए । उनले तत्काल वडाबाट गर्न सकिने सबै काम गर्ने बताउँदै पिडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको बताए । उनले सबैलाई सुरक्षित र सतर्क रहन समेत अनुरोध गरेका छन् ।

पहिरो निरीक्षण पश्चात् बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा भूगर्भविद्सहित जनप्रतिनिधिले तत्काल के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलमा भूगर्भविदहरुले जोखिम युक्त क्षेत्र भएको निष्कर्ष निकाल्दै तत्कालको लागि सुरक्षित हुँदै सतर्कता अपनाएर सम्भाव्य जोखिम न्यूनीकरणको उपायको लागि गृह मन्त्रालय विपद व्यवस्थापनसँग समन्वय गरेर अघि बढ्न सुझाव दिए ।

उनीहरुले तत्काल पहिरो रोकथाम गर्न, जोखिम कम गर्न के–के संरचना बनाउन सकिन्छ त्यतातर्फ प्राविधिकसँग सल्लाह गरेर अघि बढ्न सुझाव दिए ।

प्रदेश सभा सदस्य दिपक निरौलाले तत्काल उक्त जोखिमको विषयमा प्रदेशमा जानकारी गराउँदै के–के गर्न सकिन्छ त्यसको लागि पहल गर्ने बताएका थिए । उनीहरुले तत्काल उक्त क्षेत्रमा मानिसको आवागमन रोक्न पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *