एसिया कप क्रिकेट : छनोटको पहिलो खेल नेपालले आज ओमानविरुद्ध खेल्दै


“काठमाडौँ, भदौ १३ । एसिया कप क्रिकेट छनोटका लागि मलेसिया पुगेको नेपाली क्रिकेट टिमले छनोटको पहिलो खेल आज ओमानविरुद्ध खेल्दैछ ।
नेपाली समयअनुसार बिहान ७ बजेर ४५ मिनेटमा मलेसियाको वायुइमास ओभलमा खेल सुुरु हुुनेछ । यसअघि नेपालले ओमानसँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ ।
बुधबार हुने पहिलो छनोट खेलमा नेपाल र ओमान दुवै देश आ—आफ्नो जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो । जसमा नेपाल १०५ रनले विजयी भएको थियो ।
नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो ।
सुरुका तीन खेल लगातार जितेको नेपाल पछिल्ला वर्षहरुमाओमान भन्दा कमजोर देखिएको छ । बुधबारको खेल जित्दै दुवै टिम एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्यका साथ मैदान उत्रिनेछनु् ।”
