वीपीका प्राध्यापकहरुले प्रधानमन्त्री गुहार्दा उपकूलपति शक्ति केन्द्रको शरणमा


“
काठमाडौं, भाद्र १२ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भ्रष्टाचारको छानविन गर्न गठित समितिले अनुसन्धानलाई तिब्रता दिइरहेको छ । डेढ वर्ष यता प्रतिष्ठानमा १८ करोडको एमआरआइ उपकरण खरिद, अंकोलोजी कार्डियोलोजी भवन निर्माणको निमित्त १४ करोडमा परामर्शदाता नियुक्ति, नियम विपरित टुक्रे खरिद, उपकरणहरु खरिद, कर्मचारी नियुक्ति लगायतमा प्रतिष्ठानका पदाधिकारीले चरम भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिब डा. केदारबहादुर अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
१ महिना भित्र विस्तृत अध्ययन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सक्ने अधिकार सहितको छानविन समितिले पटक पटक वीपी प्रतिष्ठान धरान गएर विस्तृत अध्ययन अनुसन्धान गर्यो, जसमा प्रतिष्ठानले खरिद गरेका सामान, टेण्डरका फायल र खरिद सम्बन्धि अन्य महत्वपूर्ण फायलहरु समावेश भए ।
एक साता भित्र प्रतिवेदन प्रधानमन्त्रीको टेवुलमा
छानविन समितिले आउँदो साताभित्र प्रधानमन्त्री कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । केहि केहि महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रतिष्ठान ब्यवस्थापनलाई भ्रष्टाचार सम्बन्धि विभिन्न १३ विषयमा सोधपुछ गरेको थियो । जसमा प्रतिष्ठानका पदाधिकारीले जवाफ पठाएका थिए । त्यसमा अधिकांश विषयमा चित्त बुझ्दो जवाफ नपाएपछि अख्तियारले प्रतिष्ठानलाई तत्काल चित्त बुझ्दो तथ्यगत जवाफ नदिए कारवाहीको भागिदार हुनुपर्ने भनि पालै पालो पदाधिकारीहरुलाई फोन गर्दा प्रतिष्ठानमा भूइँचालो गएको थियो ।
उता छानविन समितिले प्रतिवेदनलाई अन्तिम टुँगो लगाउन भन्दै गत साता स्वास्थ्य मन्त्रालयमा सम्पन्न बैठकमा प्रतिष्ठानका उपकूलपति प्रा.डा. राजकुमार रौनियारको १८ महिने कार्यकालमा भौतिक पूर्वाधार, मेडिकल उपकरण खरिद, सवारी साधन खरिद, कर्मचारी नियुक्ति, विद्यार्थी भर्ना लगायत प्रक्रियामा चलखेल भएको पुष्टि भएको र कारवाहीका लागि सिफारिस गर्ने तयारी भएको शुत्र बताउँछ ।
‘एमआरआई खरिद प्रकरण, अंकोलोजी र कार्डियोलोजीमा गलत नियत राखेको देखिएको छ, पिजी इन्ट्रान्सको विषयमा पनि अनुसन्धान हुँदैछ ।’ नाम नबताउने शर्तमा छानविन समितिका एक सदस्यले बताए । उनले प्रतिष्ठानले आब्हान गरेका टेण्डर बारम्बार रद्द गर्नुको कारण समेत खोतलिएको जिकिर गरे । ‘कतिपय टेण्डरहरु रद्द गर्दै पुनः खोल्ने गरिएको छ, कतिपय नितिगत निर्णयबाटै भ्रष्टाचार भएको आधार देखिएका छन्, आधिकारिक कुरा प्रतिवेदनले बोल्नेछ ।’ समिति सदस्यको भनाई छ ।
छानविन समितिका एक वरिष्ठ सदस्यले एक वर्षयता प्रतिष्ठानले अत्याधिक रुपमा भवन बनाउने र सामान किन्ने कार्यलाई मात्र ध्यान दिएको देखिएको बताए । ‘उपकूलपतिले सिनेटबाट पछि पारित गराउने भन्दै ब्यक्तिगत निर्णय गरेका छन् जसलाई सिनेटले पास गरेको छैन र हामी सिनेट सदस्य नै अचम्मित भएका छौं ।’ उनले भने ।
सिनियर प्राध्यापकले गुहारे प्रधानमन्त्री
गत साता गृह जिल्ला झापा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिष्ठानका सिनियर प्राध्यापक डाक्टरहरुको टोलीले भेट गर्दै प्रतिष्ठान बचाउन आग्रह गरे । प्रतिष्ठानका विभिन्न विधामा स्थापना कालदेखि अनवरत कार्यरत चिकित्सकहरुले उपकूलपतिको ब्यक्तिगत स्वार्थका कारण प्रतिष्ठान धरासायी भएको भन्दै तत्काल एक्सन लिन आग्रह गरेका थिए ।
प्रतिष्ठानकै खातिर जिवन ब्यतित गरेको ब्यर्थ भयो, काम गर्ने वातावरण छैन, प्रतिष्ठानमा भूमिका विहिन बनाएर राखिएको छ
‘सिनियर फ्याकल्टीलाई अनेक कारण देखाएर प्रतिष्ठान छाड्नु पर्ने अवस्था सृजना गरिदिएपछि हामीहरु प्रतिष्ठानका कूलपति समक्ष गएका हौं ।’ एक सिनियर प्राध्यापकले नाम नलेख्ने शर्तमा भने ।–‘हामीले प्रतिष्ठानकै खातिर जिवन ब्यतित गरेको ब्यर्थ भयो, काम गर्ने वातावरण छैन, प्रतिष्ठानमा भूमिका विहिन बनाएर राखिएको छ, जसले भजन गाउँछ, त्यसलाई मात्र काम गर्ने वातावरण बनाउने अरुलाई क्रमश: भगाउने उपकुलपतिको नियत छ । स्वास्थ्य सेवा मात्र हैन, चिकित्सा शिक्षा र अनुसन्धान समेत खस्किँदै गएको छ ।’ उनले भने ।
प्रधानमन्त्रीले भेटमा सिनियर चिकित्सकहरुलाई छानविन समितिले सत्यतथ्य बाहिर ल्याएपछि चाँडोभन्दा चाँडो एक्सन लिने आश्वासन दिएको भेटमा गएकाहरुको भनाई छ ।
उपकूलपति शक्ति केन्द्र धाउँदै
प्रतिष्ठानमा प्रधानमन्त्री कार्यालयबाटै छानविन समिति गएर अनुसन्धान गरेपछि हतास भएका उपकूलपति डा. रौनियार यतिबेला पद जोगाउन शक्ति केन्द्र धाउन ब्यस्त छन् । प्रतिष्ठानका कर्मचारीहरुको बैठकमा भन्ने बेलामा ‘मलाई मन्त्रीले रौं पनि हल्लाउन सक्दैन’ भन्ने तर, हरेक साता राजधानी आउँदै शक्ति केन्द्र धाउने दोहोरो चरित्र देखाएका छन् ।
यसै साता राजधानी आएका उनले स्वास्थ्यमन्त्री उपेन्द्र यादवका आफन्त र पार्टीका नजिकका मान्छेलाई भेट गरेका छन् । यसका अलावा डा.रौनियारले प्रधानमन्त्री कार्यालयका केहि ब्यक्तिलाई समेत भेट गरेका छन् । ‘उपकूलपति ज्यूले मन्त्री ज्यूलाई भेट गर्ने कार्यक्रम थियो तर, उहाँ विदेशमा रहेकाले भेट हुन सकेन ।’ स्वास्थ्य मन्त्रालय स्रोत भन्दछ ।
उपकूलपतिले नेकपा र संघिय समाजवादी फोरमका केहि माथिल्ला तहका नेताहरुलाई भेट गरेर छानविन समितिलाई रोकिदिन आग्रह गरेका छन् ।
सर्भरको पासवर्ड उपकुलपतिको कब्जामा
गएको साता उपकूलपतिले प्रतिष्ठानको सर्भर नै कब्जामा लिए । प्रतिष्ठानमा कम्प्युटर सेक्सनका अधिकृत इ. राकेश दास, संजिव कर्ण र कमल ह्युज राईसँग मात्र हुने सर्भरको पासवर्ड उपकूलपतिले लक गरेको स्रोतको दावि छ ।
छानविन समितिले प्रतिष्ठानका सबै टेण्डरका फायलहरु अनुसन्धान गरिरहेको अवस्थामा उनले लेखा र हस्पिटलका महत्वपूर्ण डकुमेन्टहरु लुकाउन सर्भर लक गरेको हुन सक्ने स्रोतको दावि छ । ‘अहिले सम्म सर्भर कसैले लक गरेका थिएनन्, यस पटक उपकूलपतिले लक गर्नभन्नु भयो’ कम्प्युटर सेक्सनका एक कर्मचारीले भने ।
प्रतिष्ठानका एक चिकित्सकले भने असोज ५ गते हुन गइरहेको एमविविएसको इन्ट्रान्स परीक्षामा चलखेल गर्न उपकूलपतिले सर्भर लक गरेको हुन सक्ने जिकिर गरे । तथापि, कम्प्युटर सेक्सनका कमल ह्युज राईले एमविविएसको परीक्षा र सर्भर विच कुनै सम्बन्ध नरहने बताए ।
उपकूलपतिले सर्भर लक गरेपछि कम्प्युटर शाखाका कर्मचारीले अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई जानकारी गराउँदा अस्पताल निर्देशक साहले उपकूलपतिले गरेको कुनैपनि काममा आफुले बोल्न नमिल्ने र सर्भर लक सिधै उपकूलपतिको ठाडो आदेशमा भएको बताएको कम्प्युटर शाखाका एक कर्मचारीले जिकिर गरे । कम्प्युटर सेक्सनका कमल ह्युज राईले केहि दिन यता प्रतिष्ठानमा बारम्बार विद्युत आपुर्तिमा समस्या हुँदा सर्भरमा समस्या आउने गरेकोले त्यसलाई हल गर्न सर्भर लक गरिएको जिकिर गरे ।
गएको महिना लगभग १५ दिन बढि राजधानी बसेर आफुमाथी लागेका आरोप मेटाउन खोजेका उपकूलपतिले आफ्नो हाजिरी लुकाउन प्रतिष्ठानको कम्प्युटर सेक्सनबाट इलेक्ट्रोनिक्स हाजिरी समेत कब्जामा लिएका थिए ।
साना कर्मचारीलाई तलव दिने पैसा छैन
प्रतिष्ठानमा कृतिम बजेट अभाव सृजना गरिएको छ । प्रत्येक महिनाको मसान्तसम्म सबै शिक्षक कर्मचारीहरुको तलब बैंक खातामा जाने गरेपनि यस पटक श्रावण महिनाको तलब अहिलेसम्म भुक्तान भएको छैन ।
भदौको पहिलो हप्ता वितिसक्दा प्रशासनले तलब भुक्तान नगर्दा समस्या पैदा भएको एक कर्मचारीले बताए । समयमै तलब भुक्तान नगर्दा खासगरी दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई समस्या भएको छ ।
शिक्षक कर्मचारीहरुले तलब कहिले आउँछ भन्दै लेखा शाखामा सोधपुछ गर्दा ‘खातामा पैसा नभएकोले ढिला भएको’ भन्ने जवाफ आएको एक कर्मचारीले बताए । प्रतिष्ठानले स्टाफ नर्स र जुनियर तहका कर्मचारीलाई करिब १ करोड बराबरको तलब भुक्तान गर्न बाँकी रहेको प्रतिष्ठानका लेखा शाखाका एक कर्मचारीले बताए ।
‘माथिल्लो तहका चिकित्सक र कर्मचारीले तलब पाइसके, नर्सिङ र तल्लो तहका कर्मचारीको बाँकी छ, खातामा सञ्चित रकम नभएकोले दुई चारदिन लागेको मात्र हो ।’ उनले भने ।
किन खातामा पैसा भएन ?
स्रोतका अनुसार पछिल्लो समय प्रतिष्ठानमा आर्थिक संकट चुलिनुमा प्रतिष्ठानका उपकूलपति जिम्मेवार छन् । उपकूलपति डा. रौनियारले प्रतिष्ठानको आर्थिक प्रशासनलाई ध्वस्त बनाएका छन् ।
विगतमा प्रतिष्ठानका चिकित्सक कर्मचारीलाई समयमै तलब भत्ता नपाउँदा कर्मचारी चिकित्सकले हड्ताल सम्म गरेका थिए । यसपटक प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानको सञ्चित रकम समेत खर्च गरिसकेकाले समस्या पैदा भएको प्रतिष्ठान स्रोतको दावि छ । यसै पनि लेखा प्रमुख र उपकूलपतिले मात्र भुक्तानी गर्ने हुँदा कुन खातामा कति संचित छ भन्ने रजिस्ट्रारलार्इ समेत सुको नहुने अवस्था प्रतिष्ठानमा छ ! उता फाइल स्वीकृत गर्ने अधिकार दिने तर चेक चाँही आफै काट्ने उपकूलपतिको कार्यबाट अस्पताल निर्देशक समेत रुष्ट भै मोर्चाबन्दी गर्न थालेका छन् !
विद्युतको समस्या
प्रतिष्ठानमा यतिबेला नियमित विद्युत अभाव छ । लोड सेडिङ नभएको अवस्था भएपनि अत्याधिक लोडका कारण प्रतिष्ठानमा झ्याप्प झ्याप्प विद्युत जाने समस्या छ । प्रतिष्ठानमा विद्युत आपुर्तिका लागि आफ्नै पावर हाउस भएपनि बारम्बार समस्या हुन्छ । विगत २५ वर्षदेखि प्रतिष्ठान भित्र चालु अवस्थामा रहेको Man Diesel UK कम्पनीको जेनरेटर विग्रिएर थन्किएको महिनौं भइसक्यो ।
करीब ५ देखि ६ हजार यूरो मूल्य पर्ने स्पेयर पार्ट्स बेलायतबाट झिकाउनु पर्नेमा उपकूलपतिले खरिदको फाइल थन्क्याइ दिएका छन् । ‘विगतमा स्पेयर पार्ट्स बिग्रेको अवस्थामा बेलायतबाट अग्रिम भुक्तानी गरी झिकाई जेनेरेटर बनाउने गरिएको थियो तर, यस पटक एजेन्ट मार्फत स्पेयर्स पार्टस् झिकाउने भनि फायल रोकिदिँदा समस्या पैदा भएको छ ।’ स्रोत भन्दछ ।
जेनेरेटर नचल्दा प्रतिष्ठानको प्रायः जसो मेडिकल उपकरणहरु बिग्रँदै गएका छन् । कम्प्युटरका सर्भरहरुमा समस्या आएको छ । यति मात्र हैन नियमित बिद्युतको अभावको कारण ICU, Major OT / Minor OT, Cathlab जस्ता संवेदनशील क्षेत्रमा समेत असर परेको छ ।
पानीको हाहाकार
वीपी प्रतिष्ठानमा विगत १ वर्ष देखी बिग्रेको पानी तान्ने पम्प हालसम्म मर्मत हुन सकेको छैन । नयाँ पम्प खरिदको लागि प्रक्रिया समेत भईसकेको अवस्थामा उपकूलपतिले निर्णय नगर्दा समस्या पैदा भइदिएको छ । पानीको अभावमा प्रतिष्ठानको सरसफाई प्रभावित भएको छ । प्रतिष्ठानमा बसोबास गर्ने चिकित्सक, कर्मचारी र विद्यार्थीहरु बाहिरबाट ट्यांकरको पानी मगाएर खाने गरेका छन् । अहिले प्रतिष्ठान हाताभित्र कर्मचारी, चिकित्सक, फ्याकल्टी र विद्यार्थी गरी १० हजारको हाराहारीमा बसोबास गर्दछन् ।
धमाधम आफ्नालाई शक्तिशाली पद
भ्रष्टाचारका कारण लथालिंङ्ग भएको प्रतिष्ठानलाई धरासायी बनाउन उपकूलपतिले एकपछि अर्को निर्णय गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयले शक्तिशाली छानविन समिति गठन गरेर छानविन गरिरहेको अवस्थामा उपकूलपतिले विभिन्न पदहरुमा आफ्ना मान्छे घुसाएका छन् ।
डा. रौनियारले गएको साता प्रतिष्ठानको सहायक अस्पताल निर्देशकमा डा. विकास साहलाई नियुक्त गरेका छन्, भने प्रतिष्ठानको परीक्षा समितिको डीनमा नाक कान घाँटी विभागका डा. श्याम थापालाई नियुक्त गरेका छन् ।
प्रतिष्ठानमा यतिबेला फरेन्सिक विभागका डा. विकास साहको चुरीफुरी हेरिनसक्नुको छ । साहलाई उपकूलपतिले सहायक अस्पताल निर्देशक बनाई दिएपछि उनी अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई समेत वाईपास गर्दै उपकूलपतिको इशारामा प्रतिष्ठान चलाउने योजनामा छन् ।
डा. साह फरेन्सिक विभागका जुनियर फ्याकल्टी हुन् । उनी मुल्यांकन समितिका सदस्य समेत भएकोले प्रतिष्ठानले गर्ने कुनैपनि काम कारवाहीलाई प्रभावित बनाउन तथा आफ्नो चाहना अनुसार सप्लायर्स र ठेकेदारलाई टेण्डर दिलाउने क्षमता राख्छन् र, यस कार्यमा साहलाई आँखा चिम्लेर समर्थन गर्छन्, खरिद अधिकारी रमेश पण्डित ।
प्रतिष्ठानको कुनैपनि बोलपत्र मुल्यांकन गर्न उपकूलपति, खरिद समितिका सदस्य सचिव पण्डित, मुल्यांकन समितिका सदस्य विकास साहको बोलवाला छ । ‘हामीलाई समितिको सदस्यमा राखिए पनि कुनै निर्णय गर्ने हैसियत छैन ।’ एक सदस्यले भने । अहिले प्रतिष्ठानका कतिपय बोलपत्रहरु न्यूनतम अंक कबोल गर्नेलाई हटाएर दोश्रो र तेश्रोलाई सिफारिश गर्ने गरिएको छ ।
प्रतिष्ठानका मुल्याकन समितिका सदस्य विकास साहले भने प्रतिष्ठानका विषयमा कुनैपनि कुरा बुझ्न प्रवक्तालाई सम्पर्क गर्न भने । ‘प्रतिष्ठानसँग सम्बन्धित मात्र हैन, मेरो ब्यक्तिगत कुरा पनि प्रवक्ता वा उपकूलपतिलाई सोध्नुस्, मलाई फोन गर्नुपर्दैन ।’ उनले भने ।
यता प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारसँग यी विषयमा कुरा गर्न उनको मोवाइल नं. ९८५२०३१८९५ मा सम्पर्क गर्दा उनको फोन स्विच अफ आयो । प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले भने आफु दुई चार दिन बाहिर भएकोले प्रतिष्ठानमा भए गरेका कृयाकलाप केहि थाहा नभएकोले बुझेर जवाफ दिने बताए ।
“
