दुहवी नगरपालिकाद्वारा कर नबढाएको स्पष्टिकरण


“
दुहवी, भदौ १२ । स्थानीय तहले कर बढाएको भन्ने विषयलाई दुहवी नगरपालिकाले अस्वीकार गरेको छ । दुहवी नगरपालिकाका प्रवक्ता तथा कार्यवाहक प्रमुख विजय कुमार चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नगरवासीमा कर सम्बन्धिको भ्रम प्रष्ट पार्ने प्रयास गरेका हुन् ।
कार्यवाहक प्रमुखबाट जारी विज्ञप्तिमा दुहवी नगरपालिकाले उठाउँदै आएको कर साविक बमोजिम नै रहेको उल्लेख गरिएको छ ।
व्यक्तिगत घटना दर्तासँगै जेष्ठ नागरिक, असहाय, अशक्त, विपन्न परिवार लगायत लक्षित वर्गका हकमा उपलब्ध गराइँदै आएको निशुल्क सेवा, सुविधा र छुटको व्यवस्था दुहवी नगरपालिकाकाको हकमा हालको अवस्थामा समेत निशुल्क रहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै कार्यवाहक प्रमुख विजय कुमार चौधरीले छिमेकी नगरपालिका र गाउँपालिका भन्दा दुहवी नगरपालिकाको करको दर कम रहेको दावी गरेका छन् । यस अघि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले पनि करको विषयमा प्रष्ट पारेका थिए ।
“
