अनियमितता र भ्रष्टाचार भएको भन्दै दुहवीका स्थानीय आन्दोलित

“
दुहवी, भदौ १२ । स्थानीय वासिन्दा र विपक्षी दलले सोमबार दुहवी–१२ (पूर्व कुशाहा) कार्यालय घेराउ गरेका छन् ।
बाढी पीडितको नाममा आएको रकम आफ्ना नजिकका कार्यकर्तालाइ बाँडेको र विकास निर्माणका काममा अनियमितता तथा भ्रष्टाचार गरेको भन्दै स्थानीय र विपक्षी दलले सोमबार दुहवी वडा नं. १२ (पूर्व कुशाहा) कार्यालय घेराउ गरेका हुन् ।
उनीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै ६ बुँदे मागसहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।
ज्ञापनपत्रमा बाढी पीडितको नाम सार्वजनिक गर, वास्तविक बाढी पीडित पहिचान गर, उपभोक्ता समितिहरुको नामावली सार्वजनिक गर, आ.व. २०७४/०७५ को आय व्यय सार्वजनिक गर, कर्मचारी नियुक्तिको प्रक्रिया केहो ? सार्वजनिक गर, नाजायज कर खारेज गर लगायतका कुराहरु उल्लेख गरिएको थियो ।
गतवर्ष साउनको अन्तिम साता आएको बाढीले क्षति पुर्याएको यस क्षेत्रका लागि आएको बाढीपीडितको रकम जनप्रतिनिधिले नक्कली बाढीपडित बनाई कुम्ल्याएको भन्दै दुहवी वडा–१२ को कार्यालय सोमबार दिनभरजसो तनावग्रस्त रहेको थियो ।
जनप्रतिनिधिले आफ्ना नजिकका कार्यकर्ताहरुलाई नक्कली बाढीपीडित बनाई वास्तविक बाढीपीडितहरुलाई थप पीडा पुर्याएको भन्दै सोमबार वडा कार्यालय परिसरमा स्थानीय र विपक्षी दलका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा स्थानिय र प्रहरीबीच केहिबेर घम्साघम्सी समेत भएको थियो । बाढीपीडितको नाममा आएको राहत रकम वडाध्यक्ष र सदस्यहरूले आफ्ना कार्यकर्तालाई बाँडेको भन्दै स्थानिय आक्रोसित बनेका हुन् ।
वास्तविक बाढीपीडितहरुले रकम नपाइरहेका बेला वडाका निर्वाचित जनप्रतिनिधिहरूले यस्तो बदनियतपूर्वक काम गर्नुले पार्टीमाथि नै प्रश्न उठ्ने संघर्ष समितिका संयोजक रामचन्द्र चौधरीले बताए ।
उक्त रकम अनियमित तरिकाले वितरण भएको स्थानीय अगुवाको आरोप छ । ‘सर्वसाधारणको पैसामा वडाध्यक्षको मनपरी कहिलेसम्म ?’ –उनको प्रश्न थियो ।
दुहवी–१२ पूर्व कुशाहाका स्थानीय चुलाइ यादवले गाउँमा जनप्रतिनिधिहरूको मनपरी बढेको कारण आफुहरु प्रतिवादमा उत्रन बाध्य भएको बताउँदै उनले भने, ‘जनप्रतिनिधिहरूको मनपरीतन्त्र बन्द हुनुपर्छ ।’
त्यस्तै स्थानीय अगुवा गुणराज पोखरेलले पनि जनप्रतिनिधिहरूकै मिलेमतोमा अनियमितता हुनु आश्चर्यजनक रहेको बताए । स्थानीय तुलसी मण्डल, लिलानन्द यादवलगायतका स्थानीय यतिबेला बाढीपीडितको रकममा अनियमितता गरेको भन्दै सम्बन्धित निकायमा धाउन थालेका छन् ।
बाढीपीडितको रकममा केहि त्रुटि भएकोले दुहवी १२ का वडाध्यक्ष खुसीलाल चौधरीले स्वीकार गरि भिडका सामु क्षमा मागेका थिए । मंगलबार दिउँसो २ बजे संघर्ष समितिका संयोजक रामचन्द्र चौधरीसहित ११ जनाको वार्ता टोली र दुहवी–१२ कार्यालयका जनप्रतिनिधिहरु बसेर वार्ता गर्ने भनेपछि विरोध प्रदर्शन शान्त भएको हो ।
“








