राष्ट्रियसभाका विषयगत समिति : सभापति चयनका लागि मनोनयन हुँदै


“
काठमाडौं, भदौ १२ । राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि मंगलबार मनोनयन हुँदैछ । राष्ट्रियसभाका चारवटा समितिको बुधबार हुने सभापतिको चुनावका लागि संघीय संसद सचिवालयले दिउँसो ४ बजेसम्म मनोनयन गर्न सूचना प्रकाशित गरेको छ ।
राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको चुनाव हुन लागेको हो ।
सबै समितिमा आफ्नो बहुमत भएकाले चारवटै समितिको सभापति आफैंले लिने तयारी नेकपाले गरेको छ । मनोनयनका लागि राष्ट्रियसभाका एक जना सांसदको समर्थन र अर्को एकजनाले प्रस्ताव गर्नुपर्नेछ ।
अनौपचारिक रुपमा नेकपाले समितिको सभापति टुंगो लगाइसकेको छ ।
दिगो विकास तथा सुशासन समितिमा भैरवसुन्दर श्रेष्ठ, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापालाई बनाउने भएको छ ।
प्रतिपक्षी कांग्रेसले भने अझै उम्मेदवारी दिने नदिने निर्णय गरिसकेको छैन ।
“
