म्यानमार र श्रीलंकाका राष्ट्रपति लुुम्बिनी जाने


“काठमाडौं, भदौ १२ । बिमस्टेक सम्मेलनमा भाग लिन आउने श्रीलंका र म्यानमारका राष्ट्रपति लुम्बिनी पनि जाने भएका छन् ।
म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा जान लागेका हुन् । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना आगामि आइतबार लुम्बिनी भ्रमणमा जाने कार्यक्रम रहेको छ । दुवै राष्ट्रपति काठमाडौंबाट चार्टर विमानमार्फत भैरहवा र त्यहाँबाट हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी गरिएको छ ।
श्रीलंकाका राष्ट्रपतिले श्रीलंकाद्वारा निर्मित गुम्बा र श्रीलंकाद्वारा निर्मित गेस्ट हाउसको अवलोकनका साथै त्यहाँ वृक्षारोपणको कार्यक्रम तय भएको छ । राष्ट्रपतिहरूको लुम्बिनी भ्रमणको क्रममा उनीहरुको सुरक्षाको लागि चार वटै सुरक्षा निकायलाई परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । भ्रमणमा आउने भएपछि लुम्बिनीमा धमाधम तयारी गरिरहेको छ ।
भदौ १३ र १६ गते केही समयको लागि सर्वसाधरण, श्रद्धालु, भक्तजन, पर्यटक लगायत सबैलाई लुम्बिनी विकास कोष क्षेत्र प्रवेशमा रोक लगाइने भएको छ । लुम्बिनी भ्रमणका लागि आउने विदेशी राष्ट्रपतिहरूको सुरक्षार्थ सर्वसाधरणहरूलाई लुम्बिनी विकास कोष क्षेत्रमा प्रवेशमा रोक लगाइने भएको हो।”
