माथेमा कार्यदलका सदस्यहरुसँग संसदीय समितिले आज छलफल गर्दै

“काठमाडौं, भदौ १२ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का विषयमा समितिले छलफल गर्न कार्यदलका सदस्यहरुलाई ११ बजे बोलाइएको छ ।
कार्यदलमा केयुका पूर्वउपकुलपति डा सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा मदन उपाध्याय र डा रमेशकान्त अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा भगवान कोइराला, शिक्षामन्त्रालयका सहसचिव डा हरि लम्साल र स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी सदस्य थिए। कार्यदलले करिब ६ महिनामा प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो।
प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले त्यहि विधेयकमाथि दफावार छलफल सुरु गरेको छ। चिकित्सा शिक्षाका विषयमा राष्ट्रिय नीति बनाउन त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा केदारभक्त माथेमाको संयोजकत्वमा कार्यदल गठन भएको थियो।
कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक आउनु पर्ने डा गोविन्द केसीले माग राख्दै आएका छन् भने सरकारले पनि डा केसीमा मागमा सहमति गरेको छ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल पुस १८ गते गठन गरेको उच्चस्तरीय कार्यदललाई चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी सिफारिस गर्न कार्यक्षेत्र तोकिएको थियो।
कार्यदललाई सोही वर्षको चैत २० मा चिकित्साशास्त्र लगायतका विषयका सबै तहमा वैज्ञानिक शुल्क निर्धारण र सम्बन्धन खारेजी सम्बन्धी नीतिगत व्यवस्था सिफारिस गर्न पनि कार्यक्षेत्र थपिएको थियो। कार्यदलले २०७२ असारमा सरकारलाई प्रतिवेदन बुझाएको थियो।
समितिले यसअघि विधेयकमा संशोधन हाल्ने सांसदहरुसँग छलफल गरिसकेको छ।
“








