नेपाल सरकारलाई सघाउनुहोस्
“छाप्रोमा पानी चुहिए भाँडो थाप्नुहोस २
जाडो भए गुन्द्री माथि गजरा थाप्नुहोस
खबरदार आवाज ननिकालीकन दाँत किट्नुहोस
गन्ध नफैलने गरी ढिँडो फिट्नुहोस
संबृद्ध नेपाल बनाउनु छ २
कृपया भनेको टेर्नुहोस
६ महिने बालक जस्तो
सर्कारको लंगौटी खुस्किएको नहेर्नुहोस
सात प्रदेशका सत्र सय जन्तीहरु
हाम्रा माननीय मन्त्रीहरु
भर्खर भान्सामा पसेका छन्
भर्खर पलेँटी कसेर बसेका छन्
उनीहरुले डकारेको सुनेर
तपाईहरु पनि अघाउनुहोस्
आउनुहोस् आउनुहोस आउनुहोस
नेपाल सर्कारलाई सघाउनुहोस
सडकका माझैमा खाल्डो देखिएपनि २
पेटीमै पोखरी भेटिएपनि
चिन्ता नगर्नुहोस
पाइन्ट सुर्किनुहोस्
सारी तान्नुहोस्
बुरुक्क उफ्रिएर लङ जम्प पारी हान्नुहोस्
उफ्रिँदा खाल्डो मै पर्नुभयो भने २
अथवा ढल मैं झर्नुभयो भने
महानगरपालिकालाई गाली नगर्नुहोस् २
बरु त्यत्ति नाथे खाल्डो पनि नाघ्न नसकेकोमा
आफ्नैं र्पुपुरोमा मुड्कीले हान्नुहोस्
धार्मिक बन्नुहोस्, आध्यात्मिक बन्नुहोस्
आफु निस्केर खाल्डोमा परेका अरुलाई पनि तान्नुहोस
आउनुहोस् आउनुहोस् आउनुहोस्
नेपाल सर्कारलाई सघाउनुहोस्
फुटपाथमा पसल कुल्चिईन सक्छ २
साउजीले सडकतिरै घुर्चिन सक्छ
कदाचित त्यै बेला मोटरले हिर्कायो भने
कतै हाड करङ्ग मर्कायो भने
गुरुजी, सरी सरी भन्नुहोस्
धन्य बाँचें हे हरी हरी भन्नुहोस्
सर्कारै सर्कार छन्, सडक भरी २
सर्कारसँग मुखमुखै नलाग्नुहोस्
खुट्टो खोच्याउँदै बरु भाग्नुहोस
तर, नजाग्नुहोस
आउनुहोस आउनुहोस आउनुहोस्
नेपाल सर्कारलाई सघाउनुहोस्
फोहरको थास अगाडीबाट हिंड्दा नाक ट्याप्प थुन्नुहोस् २
बरु सासै जावोस् तर, वाक्क उक्क नगर्नुहोस्
महानगररीय सभ्यता बचाउनुहोस्
फोहर पचाउनुहोस्
आफ्नु भागको धुलो धुँवा
आफ्नै फोक्सोमा अटाउनुहोस्
डाक्टरले लेखिदिएका ओखती
नछुटाई खाइरहनुहोस्
बेलाबेला जचाउन अस्पताल धाईरहनुहोस्
दिसा जचाउँनुहोस्, पिसाब देखाउनुहोस्
डकार र खकारमा पनि नाम लेखाउनुहोस्
आफ्नो औषत आयूलाई जसरी पनि बढाउनुहोस्
सर्कारका विरोधीलाई जसरी पनि लडाउनुहोस्
आउनुहोस आउनुहोस आउनुहोस्
नेपाल सर्कारलाई सघाउनुहोस्”