बिमस्टेकका लागि बिहिबार तीन घण्टा नेपाली आकाश बन्द हुने

काठमाडौँ, भदौ ११ । यही १४ र १५ गते हुने बंगालको खाडीको लागि प्रयास (बिमस्टेक) सम्मेलनका लागि बिहीबार नेपाली आकाश बन्द गरिने भएको छ । बिमस्टेकको लागि भोलिदेखि नै अति विशिष्ट अर्थात भीभीआईपी पाहुना काठमाडौं आउँदैछन् । सरकारले सुरक्षा संवेदनशीलताका आधारमा विदेशी पाहुना आउँदा आकाशमा अरु जहाज उड्न नदिने भएको हो ।

केही देशका प्रमुख भोलि र पर्सि नेपाल आए पनि भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख भने सम्मेलन हुने दिन १४ गते बिहीबार मात्रै काठमाडौँ आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा बिहीबार मात्रै नेपाल आउँदैछन् । त्यसको लागि बिहीबार बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थलले जनाएको छ ।

‘१४ गते बिहीबार बिहान ठूला देशका राष्ट्रप्रमुख आउँदै हुनुहुन्छ, त्यसैले हामीले बिहान ८ देखि झण्डै ११ बजेसम्म आकाश बन्द गर्छौँ’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ।
उक्त दिनका लागि सबै एयरलाइन्स कम्पनीलाई सेड्युल मिलाउन जानकारी गराइसकेको उनले बताए ।

त्यस्तै केही राष्ट्रप्रमुख १५ गते नै फर्कने हुनाले त्यो दिन पनि केहीबेर आकाश बन्द हुन सक्ने उनले बताएका छन् । यस्तै केही देशका प्रमुख १६ गते बिहान फर्कने कार्यक्रम रहेकाले १६ गते पनि केहीबेर उडान र अवतरण प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *