भूपि शेरचनको कविता भन्दै सांसद सुब्बाले भनिन् ‘विद्यमान विक्रिति विसंगति नहटेसम्म महिला हिँसा रोकिन्न’


“
काठमाण्डौं भाद्र ११ । नेपाली कांग्रेसकी नेतृ तथा सांसद मिना सुब्बाले सामाजिक रुपमा विद्यमान विक्रिति विसंगतिका कारण महिला हिंसा बढेको बताएकी छिन् । हिजो प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सुब्बाले सो कुरा बताएकी हुन् ।
आफ्नो पार्टीले महिला हिंसा सम्बन्धी संसदमा संकल्प प्रस्ताव दर्ता गरेको प्रति समर्थन जनाउँदै सांसद सुब्बाले कवि भूपी शेरचनको कविता स्मरण गर्दै भनिन् ‘चार दिवारी भित्र एउटा आलमारी त्यो आलमारी भित्र चार वटा सारी त्यही नारी तिम्रो फूलबारी भनेर कवि भूपी शेरचनले लेख्नु भएको थियो ।
आज २१ औं शताब्दी सम्म आईपुग्दा पनि पितृ सत्तात्मक पुरुष प्रदान देशमा यहि कुरा झल्किइरहेको छ ।’ उनले भनिन्–‘ जब सम्म यस्तो परम्पराको अन्त्य हुँदैन तब सम्म कुनैपनि ऐन–कानुनले केहि हुनेवाला छैन ।’ सार्वजनिक लेखा समितिकी सदस्य समेत रहेकी महिला नेतृ सुब्बाले संविधानले बालवालिका तथा महिलालाई यथेष्ट अधिकार दिएपनि कार्यान्वयन तहमा फितलो भएको धारणा राखिन् ।
‘गाउँ–गाउँमा गएर, जब सम्म महिला हिंसा सम्बन्धी जनचेतना जगाउँदैनौं तब सम्म यो समस्या ज्यूँका त्यूँ रहन्छ । चाहे त्यो घरेलु हिंसा होस्, चाहे दाईजोप्रथा होस् ।’ उनले भनिन् । सुब्बाले बाल विवाह, बहु विवाह, छाउपडी प्रथा, बलात्कार जस्ता जघन्य अपराध निर्मूल गर्न आवश्यक रहेको औल्याइन् । यसका लागि पुरुषले महिला प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने उनको दावि थियो ।
उनले महिलाहरु राजनीतिक रुपमा माथिल्लो तहमा पुगेर मात्रै महिला हिंसा कम नहुने भन्दै पुरुषप्रधान समाजमा पुरुषले महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक रहेको औल्याइन् । ‘हामी महिलाहरुले राष्ट्रपति भयौं, सदनमा ३३ प्रतिशत प्राप्त गर्यौं, स्थानीयमा ४० प्रतिशत प्राप्त गर्यौं भनेर मात्र पुग्दैन, जब सम्म नेपालमा आधा जनसंख्याको नेतृत्व गर्ने महिलाहरुको सम्मान, कदर हुँदैन तबसम्म महिला मुक्ति हुँदैन ।’ उनले भनिन् ।
सांसद सुब्बाले कञ्चनपुरमा १३ वर्षिय बालिका बलात्कार गर्नेलाई प्रहरीले पक्राउ गर्न नसक्नुको कारण समेत माग गरिन् । उनले घटनाको छानविन गर्न आयोग गठन गरेर मात्र नहुने भन्दै सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कानुनी कठघरामा उभ्याउँदै पिडितलाई न्याय दिनुपर्ने बताइन् ।
“
