धरानमा यसरी मनाइयो गाइजात्रा पर्व

धरान, भाद्र १० । धरानमा नेवारी समुदायले गाइजात्रा भब्यताका साथ मनाएका छन् । नेवारी परम्परा अनुसार एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन अनुरुप धरानका नेवारी समुदायले यसवर्षको गाइजात्रा मनाएका हुन् ।

धरानमा सिद्धि नेवाः परिषद् लगायत नेवारी जातिय संस्थाहरुको अगुवाइमा गाइजात्रा मनाइएको हो । धरान नगरका विभिन्न क्षेत्रबाट निस्किएका समुहले नगरका विभिन्न भाग परिक्रमा गरेका थिए ।

गाइजात्रा परम्परा राजा प्रताप मल्लले सुरुवात गरेका हुन् । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आदेश दिएबाट यो परम्परा चलिआएको पौराणिक इतिहास छ ।

घरघरबाट जनताले गाइजात्रा निकाल्दा पनि रानीको मन शान्त हुन नसकेपछि राजा मल्लले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएका थिए । सोहि अनुरूप गाइजात्राको अवसरमा विभिन्न हास्यब्यङ्ग्य कार्यक्रम समेत गरिन्छ ।

यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत समेत गाइन्छ । गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने प्रचलन छ ।

यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

थप फाेटाेहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *