विराटनगरमा एक हप्ताको फिल्म् मेकिङ कार्यशाला हुँदै

“
विराटनगर, भदौ १० । विराटनगरमा फिल्म् र भिडियोग्राफीमा रुची भएकाहरुलाई लक्षित गरी एक हप्ताको फिल्म् मेकिङ कार्यशाला हुने भएको छ ।
कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौँ र ओबी मिडिया प्रालि विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा १ हप्ताको फिल्म मेकिङ कार्यशाला हुने भएको हो । भदौ २४ गतेदेखि शुरु हुने उक्त कार्यशाला २९ गते सम्म हरेक दिन १० बजे देखि ५ बजेसम्म गराइने छ ।
नेपालका ख्यातिप्राप्त निर्माता छविराज ओझा सहितको प्रशिक्षक टोलीले विराटनगरमा उक्त कार्यशाला गर्ने ओबी मिडिया प्रालिका निर्देशक विवेक दाहालले बताए । १ हप्ताको सो कार्यशालाबाट विद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति, सम्पादन, क्यामेराको प्रयोगका साथै सम्पूर्ण सीप पाउने आयोजकले जनाएको छ ।
विद्यार्थीहरुले उक्त तालीम पश्चात् छोटा चलचित्र समेत निर्माण गर्नुपर्ने छ भने उनीहरुले तालिमको प्रमाणपत्र पनि पाउनेछन् ।
तालिमको शुल्क दश हजार रुपैयाँ राखिएको छ । झापा र इटहरीको सफलतापछि विराटनगरमा उक्त कार्यशाला हुन लागेको कान्तिपुर फिल्म एकेडेमीका रोनिस राउतले जानकारी दिए ।
“








