पाल्पाः संस्कृत माविमा अङ्ग्रेजी पढाइ

पाल्पा, भाद्र १० । तानसेनस्थित देववाणी साधारण तथा संस्कृत माविमा यस शैक्षिकसत्रमा संस्कृततर्फ विद्यार्थीको भर्ना नै देखिएको छैन । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले असारमा संस्कृत भाषाका लागि भर्ना आह्वान गरेर प्रचार प्रसार गरेतापनि विद्यार्थी भर्नादर शून्य रहको छ ।

उक्त विद्यालयमा संस्कृत भाषामा अध्ययन अध्यापन हुँदा विसं ०६८ मा विद्यार्थीको सङ्ख्यामा ४२ थियो । मावि तहमा विद्यार्थी एक सय पनि पुग्न नसक्दा कक्षा सञ्चालनमा समस्या उत्पन्न हुँदै आईरहेको थियो ।

विसं ०६८ मा प्रवेशिका परीक्षामा एक विद्यार्थी सहभागी भए पनि उनी उत्र्तीर्ण हुन भने सकेनन् । एकदमै न्यून विद्यार्थी र पढाइ राम्रो नभएको भनेर जिल्ला शिक्षा कार्यालयले विद्यालय गाभ्न खोजे पनि स्थानीय बासिन्दा, विद्यालय र जिल्लाबासीको पहलमा रोकिएको छ ।

संस्कृत विद्यालयलाई विसं २०६९ मा देववाणी साधारण तथा संस्कृत माविको रुपमा विस्तार गरिएपछि विद्यालयले गति लियो । साधारण बनाइएपछि अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेकाले विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको हो ।

विद्यालयका तत्कालीन प्राधनाध्यापकदेखि शिक्षकले आफ्ना बालबालिका यस विद्यालयमा भर्ना गरे, हामीले विद्यालय भर्नाका लागि घरदैलो कार्यक्रमसमेत सञ्चालन गरेकाले पहिलो वर्ष नै एक सयको हाराहारीमा विद्यार्थी भर्ना गर्न सफल भएकोे प्राधनाध्यापक कृष्ण थापाले बताए ।

अङ्ग्रेजीमा पढाइ

विसं ०६९ मा कक्षा एकदेखि आठसम्म अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थी सङ्ख्या विस्तारै बढेको थियो । अहिले कक्षा १० सम्ममा नेपाली, सामाजिक, नैतिक शिक्षा नेपाली भाषामै पढाइ हुन्छ । अन्य विषय भने अङ्ग्रेजीमा पढाउने, नेपालीमा बताउने र अङ्ग्रेजीमा लेखाउन सिकाउने गरी पठनपाठन शुरु गर्दा पहिलो वर्ष नै कक्षा १० मा ४० विद्यार्थी भर्ना भएको थियो ।

विसं २००९ मा स्थापित सो संस्कृत माविमा पछि अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सबैको आकर्षणको केन्द्र बनेकाले अहिले उक्त विद्यालयमा ३०७ विद्यार्थी अध्ययनरत् छन् । विसं ०६८ फागुन १ गते किसान मावि झडेवाबाट शेषनाराण चालिसे र प्रभात मावि पालुङमैनादीबाट कृष्ण थापा सरुवा भएर देववाणी आएपछि विद्यालयमा सुधार भएको बताए ।

कक्षा १० का आयुश खनालले नेपालीभन्दा अङ्ग्रेजीमा पढ्न सजिलो हुने बताए । नेपालीमा लेख्न कठिन हुने अङ्ग्रेजीमा पढ्न र लेख्न सजिलो हुने उनको भनाइ छ ।

संस्कृतमा शून्य

पछिल्ला वर्षमा संंस्कृत भाषाप्रति विद्यार्थीको रुचि देखिएको छैन । वि.सं ०६८ पछि संस्कृत विषय अध्ययनका लागि विद्यार्थी भर्ना भएको छैन ।

विद्यालय साधारण माविमा बदलिएपछि ऐच्छिक विषयका रूपमा संस्कृत मात्र पढाइ हुने शिक्षक शेषनारायण चालिसेले बताए । शिक्षा विकास तथा समन्वय एकाइले संस्कृत विषयमा विद्यार्थी भर्नाका लागि सूचना जारी गर्दा पनि विद्यार्थी हुन सकेनन् ।

शैक्षिक सत्र विसं ०७५ मा संस्कृततर्फ कक्षा सञ्चालन गर्न कम्तीमा १० कक्षागत विद्यार्थीको भर्ना विवरणसहित शिक्षक व्यवस्थान गर्नका लागि अनुरोध गरिएको उक्त एकाइका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।

जिल्लाका रेडियो तथा पत्रपत्रिकामार्फत सार्वजनिक सूचना गरिए पनि संस्कृत पढ्न कसैले पनि रुचि देखाएनन् । भर्ना आह्वान गरिएको अवधि र त्यसभन्दापछि पनि संस्कृतका लागि कोही पनि विद्यार्थी भर्ना हुन नआएको प्राधनाध्यापक कृष्ण थापाले बताए ।

सुधार

वि.सं ०७४ को एसइइ परीक्षामा ३.२ भन्दामाथि जिपिए ल्याउने पाँच, ८९ भन्दा माथि ल्याउने ११, २.४५ भन्दा माथि ल्याउने ११ र अन्य केहीले कक्षा ११ मा पढ्न पाउने गरी नतिजा ल्याएको विद्यालयले जानकारी दिए । उक्त परीक्षामा ४४ विद्यार्थीको सहभागीता थियो ।

विसं ०६८ मा एसएलसीमा एक जना सहभागी हुँदा पनि उर्तीर्ण हुन नसक्दा विद्यालयलाई समस्या भएको हो । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न थालेसँगै विद्यार्थीको नतिजामा सुधार आएको सम्बद्ध शिक्षकको भनाइ थियो ।

प्रोजेक्टर प्रयोग गरी शिक्षण गराइने हुँदा विद्यार्थीलाई बुझाउन सहज भएको छ । विद्यालयले नयाँ–नयाँ प्रविधि प्रयोग गरी सिकाइ उपलब्धि बढाउन खोेजिएको हो । कक्षा ९ र १० मा कम्प्युटर शिक्षा, राम्रो अक्षर लेखनजस्ता प्रयास हुँदै आईरहेको छ । प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालनले पनि विद्यार्थी यस विद्यालयप्रति थप आकर्षित भएको हो ।

विपन्नलाई सहुलित

उक्त विद्यालयले विपन्न समुदायका बालबालिकालाई निःशुल्क ट्युसन तथा कोचिङ कक्षाको व्यवस्था गरेको पाइन्छ । आर्थिक रूपमा विपन्न समुदायका बालबालिकाले पैसाका कारण पढाइ बीचमा नरोकुन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएका हुन् ।

हिन्दूदेखि मुस्लिमसम्मको रोजाइँ

प्रायः पहाडी क्षेत्रका विद्यालयमा दलित समुदाय, जनजाति र क्षेत्री बाहुनले मात्र पढ्छन् तर यो विद्यालयमा मधेशी, मुश्लिम समुदायका बालबालिकालाई पनि पनि पढ्न सजिलो भएको छ । दलित ५२, जनजाति १२२, बाहुन ८०, क्षेत्री ३७, मधेशी आठ, मुसलमान सात गरी जम्मा ३०७ विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन्

प्रगतिका लागि समस्या

पर्याप्त भवन र जग्गा अभावका कारण विद्यालय विस्तारमा समस्या झेल्दै हुँदै आईरहेको र आधुनिक भवन बनाउनका जग्गाका अभाव भएको विद्यालयले जानकारी दिएका छन् ।

उक्त विद्यालयको अस्तित्वमा जोगाउन प्राविधिक शिक्षा सञ्चालन गर्ने योजनामा विद्यालय रहेको जिल्लामा आयुर्वेदिक शिक्षातर्फ कक्षा सञ्चालन गर्न सकिए विद्यार्थीको आकर्षण बढ्ने प्रअ थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =