सरकारी आयुर्वेद स्वास्थ्य केन्द्र सुनसान, निजीमा भिंड

चन्द्रनिगाहपुर,११ साउन । जिल्लाको बिभिन्न स्थानमा आयुर्वेद औषधी खरिद गर्नेको चाप बढेको भएपनि चन्द्रपुर नगरपालिकामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भने सेवाग्राहीको संख्या न्युन रहेको छ । सो अस्पतालका कर्मचारीका कारण अस्पतालमा सेवा लिनका लागि सेवाग्राही जान छाडेको स्थानीय बासीको भनाई रहेको छ । पछिल्लो समय रौतहटमा आयुर्वेद उपचारमा स्थानियको आकर्षण बढ्दै गएको छ । निजी स्तरमा खुलेका आयुवेदिक औषधिका पसलमा सर्वसाधारणको भिड लाग्ने गरेको भएपनि चन्द्रनिगाहपुरमै रहेको जिल्ला स्तरको आयुर्वेद केन्द्रमा सेवाग्राही छिटपुट मात्र जाने गरेका छन् ।

नियमित रुपमा अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी आएर सेवा नदिने गरेका कारण सो अस्पतालको अवस्था नाजुक रहेको स्थानीय बासी बताउँछन् । सो अस्पतालको बिषयमा स्थानीय राजनैतिक दलका स्थानीय नेता तथा स्थानीय बासिन्दाले समेत चासो नदिएका कारण अस्पताल भवन दिनभरी सुनसान जस्तै बन्ने गरेको सन्तपुरका स्थानीय बासिन्दा अमृत सापकोटाले बताए ।

आयुर्वेदको महत्व बुझ्दै गएपछि यसप्रति अझ आकर्षण बढ्दै गएको छ । तर, राज्यको लगानी चन्द्रनिगाहपुर गौर रोडमा पर्ने मोथियाही पुल छेउमा रहेको अस्पतालमा भन्दा चन्द्रनिगाहपुरको चोक र बजारमा रहेका आयुर्वेद पसलमा औषधी किन्न र उपचार गराउन आउनेको चाप बढदै जान थालेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सेवा सुविधा बिस्तार गरेपछि उपचारका लागी आउने विरामीको संख्या बढेको बताउदै आएपनि सो अस्पतालमा खासै मान्छेको भिड देखिदैन् । हाडजोर्नी, सुनिने, हात,खुटा, कम्मर दुखेको लगायतका विरामी आयुर्वेद स्वास्थ्य केन्द्रमा बढि आउने गरेको सो अस्पतलले जनाएको छ ।

चन्द्रनिगाहपुरमा सो अस्पताल खुलेको केही बर्षसम्म सेवाग्राहीको राम्रो चाप रहने गरेकोमा पछिल्लो समय आएर सेवाग्राही देख्न समेत मुस्कील पर्ने गरेको स्थानीय बताउछन् । अस्पतालले आफुले दिने सेवाको बिषयमा सर्बसाधारणलाई जानकारी गराउन नसक्दा चन्द्रपुर नगरपालिका भित्रनै जिल्ला आयुर्वेद अस्पताल छ भन्ने बिषयमा धैरैलाई जानकारी समेत नभएको डुमरियाका स्थानीय युवा भुमध्य चौधरीले बताए । अस्पतालमा आउने कर्मचारीले सेवा र अस्पतालको बारेमा प्रचार प्रसार भन्दा पनि तलव पकाउने काम गरेका कारण सो अस्पतालको अवस्था नाजुक बन्दै जान थालेको सोही स्थानका स्थानीय बासिन्दा एकादशी चौधरीको भनाई रहेको छ ।

तराई एक्सप्रेस दैनिकमा प्रकाशित 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *