केरलाको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४४५ पुग्यो


“
कोची, भाद्र १० । भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।
राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा परी बेपत्ता भएको मानिसको खोजतलास भईरहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ ।
केरलाका मुख्यमन्त्री पिनारायी विजायनले ट्वीट गरी बाढी पसेका १३०,००० भन्दा बढी घरहरुको सफाई गरिएको जानकारी दिए । उनले यो संख्या करिब एक तिहाई रहेको बताए ।
सरकारी अधिकारीहरुले अवरुद्ध विद्युत सेवा चालू गराउने प्रयास भइरहेको जानकारी दिए ।
घर फर्किन थालेका सर्वसाधारणलाई सर्पको डसाईबाट बच्न समेत सचेत गराइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सर्पको डसाईबाट बच्ने उपाय र उपचारको तत्काल व्यवस्था मिलाउन वन्यजन्तु विभाग र मेडिकल टोलीलाई सतर्क अवस्थामा राखिएको छ ।
दिनहुँजसो मृत्युका खबर आइरहेको सन्दर्भमा केरलाका अधिकारीहरुले मृत्युको मुख्य कारण बाढी हो होइन भनी जाँच पनि सुरु गरिसकेका छन् ।
सरकारले १० हजारभन्दा बढी सडक भत्किएको र बाढीबाट करिब ५० हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएको जनाएको छ ।
“
