इरानमा फेरि गयो भूकम्प: ४१ जना घाइते, दुईको मृत्यु
“
तेहरान, भाद्र १० । इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु भएको छ । घाईतेहरुको संख्या भने २०० भन्दा बढी पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट सयौंको ज्यान गएको थियो ।
कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब शारिदारीले दुई जनाको मृत्यु भएको र २४१ जना घाइते भएको जानकारी दिए। घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहको छ ।
रेड क्रिसेन्टका प्रान्तीय प्रमुख मोहम्मद रेजा अमिरियानले भूकम्पका कम्तीमा २१ वटा परकम्प महसुस गरिएको बताए ।
उनले गाउँमा पूर्वाधारमा व्यापक क्षति पुगेकाले खानेपानीको गम्भीर समस्या भएको, तर खाद्यान्न र टेन्टहरु भने वितरण गर्नुपर्ने अवस्था नरहेको बताए।
कर्मान्शाहका गभर्नर हाउशाङ बाजभान्डले भूकम्प गएपछि धेरै गाउँमा अस्थायी रुपमा विद्युतसेवा कटौती गर्नु परेको बताउँछन् । उनले आपतकालीन केन्द्रहरु खोलिएको, र अस्पताल तथा राहत संस्थाहरुलाई सावधानी अपनाउन भनिएको बताए ।
गत वर्ष नोभेम्बरमा यही क्षेत्रमा ७.३ म्याग्नीच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर कर्मान्शाह प्रान्तमा मात्र ६२० जनाको मृत्यु भएको थियो ।
“