छोराको कुटपिटबाट बाबुको मृत्यु, बढीले बगाएको वृद्ध मृत अवस्थामा फेला


“
लहान, भाद्र १० । सिरहाको लहान नगरपालिका–१८ मनर्वाकामा आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका बाबुको मृत्यु भएको छ ।
घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
कुटपिट गर्ने छोरा सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए ।
यस्तै सप्तरीको खडग खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका एक वृद्धको शव हिजो शनिबार फेला परेको छ ।
खडक नगरपालिकास्थित कल्याणपुर बजारमा हाट बजार गरी गत शुक्रवार घरतर्फ फर्कने क्रममा बाढीले बगाएर हराएका सप्तरीको खडग नगरपालिका–७ निवासी ६० वर्षीय पुष्पलाल तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खोलाले बगाएको स्थानबाट करीव ४ किलो मिटरको दूरीमा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भवेश रिमालले जानकारी दिए ।
“
