स्व. मङ्गलादेवी सिंहको २२ औं स्मृति दिवस

काठमाडौँ, भाद्र १० । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व. मङ्गलादेवी सिंहको २२ औँ स्मृति दिवसमा उनले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको स्मरण गरिएको छ ।

नेपाल महिला सङ्घ काठमाडौँ शाखाको आयोजनामा आज बिहान मङ्गलादेवीको शालिक रहेको स्थान शोभा भगवतीमा एक कार्यक्रमको आयोजना गरी उनको शालिकमा माल्यापर्ण गर्दै श्रद्धान्जलि अर्पण गरियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि सधै आवाज उठाउने नेतृ मङ्गलादेवीले एकतन्त्रीय राणा शासन फाल्ने देखि प्रजातान्त्रिक आन्दोलनमासमेत महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।

नेता सिंहले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै अधिकार सुनिश्चित गर्नका लागि महिलाहरु लड्नुपर्ने बेला आएको जिकिर गरे ।

नेता सिंहले दुईतिहाईको सरकारले जनताको समस्या समाधान गर्न नसकेको आरोप लगाए ।

नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हक अधिकारका लागिमात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो भूमिका रहेको बताए ।

नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिला सङ्घ मङ्गलादेवी सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने विचार प्रकट गरे ।

महिलाका हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिलाहरु भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *