विकासमा बाधक बनेका ऐनकानून परिवर्तन गर्ने : रक्षामन्त्री पोखरेल


“
काठमाडौं, भदौ १० । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशको आर्थिक विकासमा बाधक बनेका ऐनकानून परिवर्तन गर्ने निष्कर्षमा सरकार पुगेको बताएका छन् ।
ताप्लेजुङवासीको बृहत् भेलालाई काठमाडौँमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले आर्थिक समृद्धिका लागि बाधक बनिरहेका पुराना नीति बदल्न चाहेको बताए । उनले ताप्लेजुङको विकासका लागि ताप्लेजुङ विकास कोष स्थापना गर्न स्थानीय जनतालाई आग्रह गर्दै उक्त कोषमा सरकारले सहयोग गर्ने बताए।
सरकारले कृषि, पर्यटन, जलस्रोतको विकासमा ध्यान दिएको बताउँदै रक्षामन्त्री पोखरेलले दुई तिहाइ जनमत प्राप्त वर्तमान सरकारले घोषणाअनुसारका काम पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरीब तथा कमजोरको मानसिकताबाट मुक्त भएपछि मात्र देशलाई आर्थिक समृिद्धको बाटोमा अग्रसर हुन सहज हुने विचार व्यक्त गरे ।
उनले देशमा बेथिति र बजारमा अराजकता बढेको तथा व्यापारीले उपभोक्तालाई ठग्ने गरेकाले उनीहरूलाई कानूनको दायरामा ल्याउनु चुनौतीपूर्ण भएको बताए । सांसद योगेश भट्टराईले देशको विकासका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अलँैची उत्पादनमा उर्वर ताप्लेजुङको भूमि भरपूर उपयोग हुनुपर्ने बताए ।
“
