मनितालाई मिस टुरिज्मको उपाधि


“
काठमाडौँ, भदौ ९ । मिस टुरिज्मको उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छिन् । आज भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिज्मको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधिसमेत जितेकी छिन् ।
प्रतियोगिताको फस्ट रनरअपको उपाधि प्रकृति ढकालले जितेकी छिन् भने श्रुती थापाले सेकेण्ड रनरअपको अपाधि जित्दै क्रमश रु ३० हजार र रु २० हजार प्राप्त गरे । प्रतियोगितामा दीक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाइस, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिप्लिन, सङ्गीता थापा मिस फिगर र मिस पर्सनालिटिज, सिर्जना घिमिरे मिस फ्रेन्डसीप र सुमी थापा मिस वाल्क घोषित भए ।
मिस टुरिज्मको उपाधि चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिज्म विषयमा स्नातक अध्ययनरत् छिन् । आगामी दिनमा पर्यटन क्षेत्रमा महिलाको सहभागिता वृद्धिका लागि सक्रिय भूमिका खेल्ने पौडेलले बताइन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन प्रवद्र्धनात्मक अभियानमा लागी पर्ने पौडेलको भनाई छ ।
विजेतालाई विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसेडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर प्रदान गरिने आयोजक प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले (सन् २०१६ देखि) तीन वर्षदेखि प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने आयोजकको दाबी छ । पहिलो मिस टुरिज्म ओरुषा थापा र दोस्रो मिस टुरिज्मको उपाधि आरती थापाले जितेका थिए । प्रतियोगितालाई नेपाल पर्यटन बोर्डलगायत निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संस्थाको सहयोग रहेको छ ।
“
