बिचौलियाका कारण उपभोक्ता ठगिन्दै

धरान, भदौ ९ । बिचौलियाका कारण किसान र उपभोक्ता कृषि उपज सामाग्रीमा ठगिने गरेको तथ्य बाहिएको छ । सुनसरीको धरानमा अवस्थित कृषि उपज संकलन केन्द्र र खुद्धा तरकारी तथा फलफुल कारोबार प्रति नियमनकारी निकाय बेखबर हुँदा बिचौलियाहरुबाट उपभोक्ता र किसान ठगिने गरेका छन् ।

धनकुटाका कृषक जितेन्द्र लिम्बू भन्छन् ‘गाउँको कृषि सहकारीमा ८ रुपैया प्रति किलो बिक्री गरेको गोलभेडा धरान कृषि थोक बजारमा आएर मुल्य बुझ्दा प्रति किलो १२ देखि १५ रुपैया पर्छ ।’ सो मूल्यमा खरिद भएको गोलभोडा खुद्रा २५ रुपैया प्रति किलो बिक्री गरेको भेटिएको उनी बताउँछन् ।

बिचौलीयाको कारण किसानले आफ्नो परिश्रमको मूल्य नपाउने गरेको उनी बताउँछन् । त्यस्तै अर्का कृषक तुलसी खड्का त्यस्तै समस्या भोग्दै आएका छन् ।

खड्का भन्छन्, ‘सिजन अनुसार तरकारी र फलफुल लिन व्यापारीहरु गाउँमै आउछन् सस्तोमा माग्छन् आनाकानी गरे बजारमा तरकारीको मुल्य छैन मिलाएर दिनु हुन्छ भने लैजान्छौं, पछि तरकारी नष्ट हुँदा अहिले पाएको मुल्य पनि नआउला भन्छन्, कामले बजारको भाउ बुझ्न पाइदैन ।’ तरकारी बजारमा लैजान ढिला हुँदा भण्डारणमा नै समस्या हुने गरेको उनले गुनासो पोखे ।

भण्डारणकै समस्याका कारण उनीहरुले भनेकै मूल्यमा किसान तरकारी दिन बाध्य छन् । किसानले सस्तोमा बिक्री गरेको ताजा तरकारी र फलफुल उपभोक्ताले महँगोमा खरिद गर्न बाध्य भएको धरान १५ का ईश्वर श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘किसानले पनि सामनको सही मुल्य पाउँदैनन्, उपभोक्ता महंगोमा खरिद गरी खान बाध्य,’ उनी थप्छन्, ‘धनकुटामा ६० रुपैया प्रतिकिलो पर्ने बोडी बजारमा खुद्रा व्यापारीले १ सय ४० रुपैयमा बेच्ने गरेका छन् ।’

बजार अनुगमन गर्ने नियमनकारी सम्बन्धित निकायले ताजा तरकारी तथा फलफुल बजार अनुगमन नगर्दा विचौलिया व्यापारीहरुले मनोमानी तरिकाले फलफुल तथा तरकारीको कारोबार गर्ने गरेकोे उभोक्ताको आरोप छ ।

नियमनकारी निकायले ताजा तरकारी तथा फलफुल बजार अनुगमन नगर्दा खेती गर्ने किसान र उपभोक्ता मर्कामा पर्ने गरेका छन् ।
छिमेकी देश भारत, चीन र नेपालको विभिन्न जिल्लाहरुबाट धरान कृषि उपज थोक बजारमा भित्रिने सबै ताजा तरकारी र फलफुल बिचौलिया मार्फत कारोबार हुने हुँदा किसान र उपभोक्ता चर्को मारमा पर्ने गरेको उपभोक्ता र किसानहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *