निर्मला पन्त हत्या प्रकरणः प्रहरीकाे दमन, जिल्लाका शैक्षिक संस्था बन्द

“
कञ्चनपुर, भदाै ८ । कञ्चनपुरमा आज पनि विरोध प्रदर्शन भएको छ । भीमदत्त नगरपालिका २ की १३ बर्षिया बालिका निर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्यामा संलग्न वास्तविक अपराधीलाई सार्वजनिक गर्न माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले चरम दमन गरेको भन्दै त्यसको विरोधमा आज पनि स्थानीयले कञ्चनपुरका विभिन्न स्थानमा प्रदर्शन भएका हुन् ।
विभिन्न स्थानमा नारा जुलुश सहित स्थानीयले प्रदर्शन गरेका हुन् । कञ्चनपुरका महेन्द्रनगर, बेलौरी, वाणीबंक, झलारीलगायतका स्थानमा विरोध प्रदर्शन भएको हो । वर्षाका बीच पनि स्थानीयले विरोध प्रदर्शन गरेका थिए । यसैबीच, कञ्चनपुरका विद्यालय आज बन्द छन् । जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले शुक्रबार एक दिने विद्यालय बन्दको घोषणा गरेका हुन् ।
बिहीबार भएको विरोध प्रदर्शनमा प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोली प्रहार गरेको थियो । गोली लागेर ८ जना घाइते भएका थिए । प्रहरीले सार्वजनिक गरेका अभियुक्त नक्कली भएको भन्दै वास्तविक अभियुक्त सार्वजनकिको माग गर्दै प्रदर्शन भएको हो ।
स्थानीयवासीले निर्मलाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै गरेको प्रदर्शनमा प्रहरी प्रशासनले गोली चलाएको विरोधमा प्याब्सन र एनप्याब्सनले एकदिनका लागि विद्यालय बन्द घोषणा गरेका हुन् । सोहीअनुरुप शुक्रबार जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् ।
यता सिडियो र प्रहरी प्रमुखको सरुवापछि महेन्द्रनगरको अवस्था सामान्य बन्दै गएको छ । तीन दिनदेखि ठप्प रहेका यातायात आज बिहानैबाट संचालनमा आएका छन् भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर तीन जना र झडपमा अरु पाँच जना घाइते भएका छन् । घाइतेमध्ये सन्तोषकुमार कठरियाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यस्तै, अर्जुन भण्डारी र तेजराज भट्टलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएकोमा अर्जुनको कोहलपुरमा पनि उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।
“








