कुनै पनि खाले राजनीतिक दबाब नस्वीकार्ने
“
वासिंटन, भदौ ८ । अमेरिकी महान्यायाधिवक्ता जेफ सेशन्सले आफूले कुनै पनि खाले राजनीतिक दबाब नस्वीकार्ने र कानुन विपरीत कसैसँग नझुक्ने प्रष्ट पारेका छन् ।
आफू न्याय विभागको प्रमुख रहुञ्जेल आफ्नो विभागले जस्तोसूकै राजनीतिक दबाबलाई पनि नस्वीकार्ने उनले बताए ।
राष्ट्रपति डोनल्ड ट्रम्पले सेशन्सको नियन्त्रणमा कानुन विभाग नरहेको र अमेरिकी निर्वाचनमा रुसी घूसपैठसम्बन्धी मुद्दा आफूले नहेरेर अर्काे व्यक्तिलाई हेर्न दिएकोमा व्यक्तिगत स्तरको टिप्पणी गरेलगत्तै उनले यस्तो बताएका हुन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे न्याय विभागले जारी राखेको अनुसन्धानप्रति असन्तुष्ट ट्रम्पले न्याय विभागको सँधै आलोचना गर्दै आएका छन् ।
सेशन्स शुरुमा ट्रम्पकै निर्वाचन अभियानका समर्थक थिए । तर रुसी घूसपैठसम्बन्धी मुद्दाको छानविन गर्ने जिम्मेवारी भने उनले आफ्ना डेपुटी रोड रोजनस्टाइनलाई दिएका छन् ।
स्पेशल काउन्सल रोबर्ट मूलरले गरिरहेको अनुसन्धानमा क्रममा दुई दिनअघि ट्रम्पका चुनावी अभियानका पूर्व प्रबन्धक पल मैनफोर्टलाई कर र बैंक जालसाजीमा दोषी पाइएको र दोष स्वीकार पनि गरेकाले घटनाले नाटकीय मोड लिएको छ । यसपछि स्वयं ट्रम्पले नै आफूलाई महाभियोग लाग्नसक्ने आशंका गर्दै महाभियोग लगाइए अमेरिकी अर्थतन्त्र डामाडोल हुने चेतावनी दिएका छन् । (एजेन्सी)
“