काँग्रेस नेतृ सुब्बा भन्छिन् : बलात्कारको दीर्घकालीन समाधान मृत्युदण्ड (अन्तर्वार्ता)


“काठमाडौँ, भदौ ७ । नेपाली काँग्रेसकी मिना सुब्बा अहिले देशमा घटिरहेका बालिकामाथि हुने बलात्कारका घटनाप्रति निकै गम्भिर छिन् । उनी सदनमा पटक पटक यही विषयमा आवाज समेत उठाउँदै आइरहेकी छिन् । नेपालमा बढ्दै गइरहेको बलात्कारको घटनाका विषयमा मकालु खबरले सुब्बासँग अन्तर्वार्ता :
तपाईंले बलात्कारका घटनालाई कुन रुपमा लिनु भएको छ ?
यो एउटा सामान्य अपराध मात्र नभएर जघन्य खालको अपराध हो । अपराधिले बालिकालाई यौन शोषण मात्र नगरेर हत्या पनि गरिरहेको जुन स्थिति छ, यसमा सरकार गम्भिर नभएको हो कि जस्तो मैले महसुुस गरिरहेकी छु । सरकारले नयाँ नियमावलीमा अपराधिलाई जन्मकैद मात्र दिने प्रावधान ल्याएको छ । जन्मकैद मात्र नदिएर मृत्युदण्डकै व्यवस्था गर्नुपर्छ । यो पुरुषवादी समाजको उपज पनि हो कि भन्ने भान भएको छ ।
तपाईंले यस विषयमा अहिले कसरी आवाज उठाइरहनुभएको छ ?
यस विषयमा पटक पटक संसदमा मैले बोलिरहेकी छु । म लगायत साथीहरुले उठाएको आवाजलाई सरकारले बेवास्ता गरिरहेको स्थिति छ । हामीले विभिन्न ठाउँमा बलात्कारका विषयमा जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं । तर हाम्रो समाज यति धेरै विकृत भइसक्यो कि, यहाँ चेलीहरु आफ्नै बाबु र हजुरबुवाबाट समेत बलत्कृत भइरहेका छन् । जसले गर्दा यस्ता घटनाहरु झन झन गम्भिर बन्दै गइरहेको छ ।
तपाईंको विचारमा बलात्कारका घटनाहरु किन बढेका होलान् ?
एउटा त समाजमा छाएको छाडापनको उपज पनि हो । पुरुषहरुको सोचाइ झन झन विकृत बन्दै गइरहेको छ । अर्काे सरकारले मृत्युदण्डको सजायको व्यवस्था नगर्नु पनि यसको अर्काे कारण हो । यदि सरकारले मृत्युदण्डको व्यवस्था गरिदिएको भए पनि यस्ता घटनाहरु न्यूनीकरण हुने थिए ।
केही समयअघि भक्तपुरमा भएको बालकको हत्या पनि एउटा गम्भिर प्रकृतिको अपराध नै हो । यदि परिवारले पहिले नै विभिन्न घटनाका बारेमा आफ्ना बालबालिकालाई सचेत पारेको भए त्यस्तो दुर्घटना हुने थिएन् । घटना घट्न नदिन पहिले परिवार नै उनीहरुको रेखदेख गर्नु आवश्यक हुन्छ ।
मृत्युदण्डबाट समस्याको समाधान होला त ?
यसबाट पूर्ण रुपमा यस्ता घटनाहरु नदोहोरिएलन त भन्न सकिन्न । तर पनि न्यूनीकरण भने हुँदै जान्छ । सरकार र प्रहरीले गहन रुपमा खोजी गरी वास्तविक अपराधिलाई बाहिर ल्याउन सक्यो भने डरले पनि उनीहरु त्यस्ता खालका अपराध गर्नबाट हच्किने थिए ।
के नेपालमा मृत्युदण्डको व्यवस्था गर्न सहज छ त ?
भारतमा पनि पहिले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था थिएन् । जब त्यहाँ भएको सामुहिक बलात्कारपछि किसोरीको निर्मम हत्या समेत गरियो । त्यसपछि नै जनताको लामो संघर्षपछि मृत्युदण्डको व्यवस्था कार्यान्वयन गरिएको हो । नेपालमा पनि सरकार गम्भिर भएर लाग्ने हो भने मृत्युदण्डको व्यवस्था सम्भव छ ।
सार्वजनिक लेखा समितिले बलात्कारका विषयमा कसरी आवाज उठाइरहेको छ ?
बलात्कारका विषयमा समितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाल समितिमा २९ जना महिलाहरु सहभागी छौं । हामीले त्यस्ता अपराधका विषयमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी आवाज पनि उठाउँदै आएका छौं ।
बलात्कारको दीर्घकालीन समाधान के हुन सक्छ ?
सर्वप्रथम त यस्ता खालका घटना हुन नदिन परिवार नै सचेत हुनुपर्छ । आफ्ना छोराछोरी कहाँ गइरहेका छन्, के गरिरहेका छन् । उनीहरुको रेखदेख गर्नु नै आवश्यक देखिन्छ । सरकारले पनि गम्भिरताका साथ बलात्कारका घटना न्यूनीकरणका लागि लाग्ने हो भने यसलाई बिस्तारै समाधान गर्दै दीर्घकालीन रुप दिन सकिन्छ ।
नेपाली काँग्रेसले अहिले बलात्कारको घटनालाई न्यूनीकरण गर्नका लागि के गरिरहेको छ ?
नेपाली काँग्रेसका तर्फबाट हामीले पटक पटक सदनमा सरकारसँग कुरा गरिरहेका छौं । नेपाली काँग्रेसको इतिहास हेर्ने हो भने राणाकालदेखि नै अपराध न्यूनीकरणका लागि आवाज उठाउँदै आइरहेको छ । नेपाली काँग्रेस सधैं अगाडी बढेर अपराधका विरुद्धमा उभिइ नै रहेको छ ।”
