चिया उत्पादनमा राज्यले सहयोग नगर्दा कृषक समस्यामा

पाँचथर, भाद्र ७ । कृषिलाई आधुनिकीकरण गर्न सरकारले नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् ।

चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या खेप्नु परेको गुनासो गरेका छन् । एकातिर राज्य चिया खेती र कृषकसँग उदासीन छ भने अर्कोतर्फ कृषकले चिया खेती व्यावसायिक रुपमा गर्न नसकिएको जानकारी दिए । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने नाम्फुयक चिया सहकारीका सचिव सुवास तुम्वापोले जनाए ।

उनले भने, ‘श्रमिकको समस्याले चिया खेतीमा भने जस्तो ढङ्गले विस्तार र सुधार हुन सकेको छैन् ’ चिया तथा कफी विकास वोर्ड चिया विस्तार आयोजना लालीखर्कका प्रमुख प्रेमकुमार थिङका अनुसार चिया क्षेत्रमा राज्यले विभिन्न आकर्षणसहितका अनुदान, तालीम गोष्ठी र सेमिनार सञ्चालन गरेता पनि स्वयं किसानको आकर्षण घट्नु, वैदेशिक रोजगारीका क्रममा युवा विदेश जानु जस्ता कुराले चिया उत्पादनमा ह्रास आएको बताए ।

चिया उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष नन्दकुमार आङथोपुले चिया प्रशोधनका लागि कारखानामा दक्ष प्राविधिक नहुनु र चियाको मूल्य निर्धारणमा पहुँच नपुग्दा कृषकले उचित मूल्य पाउन नसकेको बताए । विश्वका धेरै ठाउँमा चियासम्बन्धी अध्ययन–अध्यापन भए पनि नेपालजस्तो पर्याप्त चिया उत्पादन हुने देशमा त्यस्तो सहज अवस्था नहुनुले थप समस्या उत्पन्न भएको उनको भनाई छ ।

राष्ट्रिय चिया नीति, २०५८ नै परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष आङथोपुले साना किसानले कम्तीमा पनि ३५० रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने नीतिमा उल्लेख भएकाले साना चिया कृषक मारमा परेको बताए । कृषि मजदुरलाई लिङ्गका आधारमा ज्यालामा समेत विभेद गर्ने भन्दै फिदिम–५ की फूलकुमारी तुम्वापोले समान काममा पुरुषलाई रु ३०० ज्याला दिएकामा महिलालाई रु १५० मात्र दिएर विभेद गरेको जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *