पत्रकार महासंघ काभ्रेबाट पार्टीका नेतालाई हटाइँदै


“काभ्रे, भदौ ५ । नेपाल पत्रकार महासंघ काभ्रेले विभिन्न पार्टीका नेता लगायत कार्यकर्तालाई हटाउने निर्णय गरेको छ । गत शनिबार बसेको काभ्रे शाखाको वैठकले नेताहरुलाई हटाउने निर्णय गरेको हो ।
शाखाले नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाई, साविक नेकपा एमालेका उपाध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिना, साविक नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार दिलसुन्दर श्रेष्ठ, सोहि पार्टीका सुवासकाजी श्रेष्ठ, बैद्य माओवादीका जितबहादुर लामा, विभिन्न पार्टीसँग सम्वन्धित ब्यक्तिहरुको नविकरण रोक्का गर्ने निर्णय गरेको हो ।
शाखाले महासंघलाई विशुद्ध पत्रकारहरुको छाता संगठन बनाउने अभियानका रुपमा यो निर्णय गरेको थियो । निर्वाचनको अवधीलाई ध्यानमा राखेर गरिने नविकरणलाई समेत जिल्ला शाखाले तोड्दै प्रत्येक वर्ष नविकरण गर्ने अभियान शुरु गरिसकेको छ।
नेता मात्र नभई पत्रकारिता नगरी अन्य व्यवसाय गर्ने व्यक्तिलाई पनि महासंघबाट हटाइने महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले जानकारी दिए ।”
