चितवनमा पर्यटक लक्षित दन्त अस्पताल सुरू, विदेशमा भन्दा नेपालमा दाँतकाे उपचार सस्ताे

“
चितवन, भाद्र ७ । अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ । यी देशहरुमा दाँतको उपचार एकमदमै महँगो हुने भएकोले यसैलाई लक्षित गर्दै पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ ।
सन् २००४ मा नारायणगढको शहीदचोकमा स्थापना गरिएको साइराम डेण्टलका सञ्चालक डा. सरिता न्यौपानेले रत्ननगरमा सो नामबाट दन्त अस्पताल सुरु गरेका थिए । स्थानीय निकाय, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीको सहयोगमा साइराम डेण्टल केयर नामबाट अस्पताल सञ्चालनमा ल्याइएको हो ।
युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायतजस्ता विकसित देशमा दाँतको उपचार अति नै महँगो रहेको र यी देशहरुमा दाँत झिक्नु पर्दा २५० देखि ४०० सय डलरसम्म तिर्नु पर्ने तर सोही काम नेपालमा रु चार/पाँच हजार सम्ममा हुने हुँदा विदेशी पर्यटकका लागि दाँतको उपचार गर्ने प्रमुख उद्देश्य लिएर अस्पताल स्थापना गरिएको न्यौपानेले बताए ।
‘नेपालमा १० हजारमा हुने दाँतको जरा भर्ने (आरसिटी) विकसित देशहरुमा दुई हजार ५ सय डलर खर्च हुने गर्दछ । नेपालमा रु ७० हजारमा हुने दाँत प्रत्यारोपण यी देशहरुमा पाँचदेखि सात हजार डलर खर्च हुन्छ ।’ डा. न्यौपानेले बताए । ती देशमा दाँत प्रत्यारोपण, आरसिटीलगायतका उपचार गर्ने खर्चले नेपालमा उपचार गरी पर्यटकीय ठाउँको भ्रमण गरेर जान सकिने डा. न्यौपानको दावि छ । ‘विकसित देशमा हुने दाँतको उपचारको गुणस्तर हामी यहिँ दिन सक्छौंँ ।’ उनले भनिन् । सो संस्थाले हालसम्म ३५ हजारभन्दा बढी दाँतका बिरामीको उपचार गरिसकेको छ । पाँच हजारभन्दा बढीलाई विभिन्न ठाउँमा गएर निःशुल्क सेवा पनि दिई सकेको छ ।
डा. न्यौपानेका अनुसार हाल नारायणगढमा रहेको साइराम डेण्टल केयरमा दैनिक दुई जना हाराहारी गैरआवासीय नेपाली उपचारका लागि आउँछन् । अस्पतालले पहिलो चरणमा गैरआवासीय नेपालीलाई लक्षित गरी उपचार सुरु गरेको बताएको छ । विदेशका नेपालीको माग बमोजिम सो अस्पतालले शाखा विस्तार गरेको हो ।
दन्तरोग विशेषज्ञ एवं बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अजय न्यौपाने नेपालमा दन्त पर्यटन (डेण्टल टुरिजम) को सम्भावना धेरै रहेको बताए । हरेक वर्ष १५ लाख अमेरिकी दाँतको उपचार गर्न देश बाहिर जाने गरेको बताउँदै उनले तिनीहरुलाई नेपालमा ल्याउन सकिने जिकिर गरे । विकसित देशमा दाँतको बीमा नहुने हुँदा उपचार महँगो पर्ने गर्दछ ।
उपचारका लागि प्रयोग गरिने सामग्री विकसित देश र नेपालमा एउटै भए पनि नेपालमा सस्तो जनशक्ति, न्यून सरकारी करलगायतका कारण उपचार सस्तो पर्ने डा न्यौपानेको तर्क छ । कम्बोडिया, थाइलेण्ड, भारतजस्ता देशले पर्यटक लक्षित दाँतको अस्पताल सुरु गरिसकेका छन् ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले घुम्न आउने पर्यटकले आफ्नो देशको भन्दा निकै कम खर्चमा यहाँ दाँतको उपचार गर्न पाउने बताए । वनले भने, ‘आफ्नो देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा घुमेर उपचार गरेर फर्किन सम्म पुग्दो रहेछ ।’ यसले पर्यटकको बसाईलाई पनि लम्ब्याउने उनको भनाई रहेको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटल व्यवसायीले दिने सेवामध्ये पर्यटकका लागि दाँतको उपचार सेवा थप गर्दा उनीहरुको बसाइ लम्बिने र सङ्ख्या पनि थपिने बताए ।
“








