मकैको उत्पादन र उत्पादकत्व बढाउन तालिम सञ्चालन

काठमाडौं, भाद्र, ७ । दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउन तालीमको आयोजना गरिएको छ ।

आयोजित सो तालीममा हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा ज्ञान दिन कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५ जनाको सहभागिता रहेको छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालीममा सहभागीले जनाएका छन् ।

तालीममा दुईदेशका विज्ञबीच मकैको उत्पादन र उत्पादकत्व बढाउन चिनियाँ प्रविधिसहितको विविध विषयमा ज्ञान, अनुभव र प्रविधि साटासाट गरिएका छन् । तालीम सञ्चालनका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहयोग प्रदान गरेकामा कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका छन् ।

नेपालमा मकैलाई धानपछिको दोस्रो महत्वपूर्ण बालीको रूपमा लिइएको छ । पछिल्लो समय मकै खाद्य बालीका साथै नगदेबालीका रूपमा समेत स्थापित हुन थालेको छ । साथै मकैले सिङ्गो बालीजन्य उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ भने पहाडी किसानका लागि मकैखेती जीवन निर्वाहको महत्वपूर्ण आधार बनेको छ ।

नेपालमा झण्डै आठ लाख ५० हजार हेक्टर जमीनमा मकैखेती गरिने र प्रत्येक वर्ष १५ लाखदेखि १७ लाख मेट्रिक टनसम्म उत्पादन हुने गरेको पाईन्छ । नेपालमा मकैको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव आठदेखि दुई टनको हाराहारीमा रहेकोमा हाइब्रिड मकैखेती अवलम्बन गर्दा सातदेखि आठ टनसम्म फल्ने चिनियाँ वैज्ञानिक तथा मकैविज्ञ वाङ चिसङ बताए ।

स्वदेशमै हाइब्रिड मकैको बीउ उत्पादन भएपछि यसको मूल्य घटने र कृषकको लागत पनि न्यून हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका संयोजक तथा वैज्ञानिक डा केशवबाबु कोइरालाले बताए ।

हाल सिफारिश गरिएका मकैका सात बीउमध्ये दुई जलवायु परिवर्तन अनुकूल रहेको उल्लेख गर्दै उनले हाइब्रिड मकै खाद्य सुरक्षाका लागि र आयात प्रतिस्थापन गर्न पनि आवश्यकता भएको तर यसमा राज्यको लगानी अझै नपुगेकाले जनशक्ति, बजेट र प्रविधिमा थप लगानी गर्नुपर्ने औँल्याए ।

व्यापक प्रयासका बीच पनि नेपालमा मकै उत्पादन र उत्पादकत्वमा उल्लेख्य प्रगति नभएको सन्दर्भमा यो तालीम उपयोगी हुने चर्चा गर्दै चिनियाँ वैज्ञानिक वाङले यो तालीम नेपालमा पहिलो पटक भएको र चीनको सहकार्य निरन्तर रहने बताए ।

मकै उत्पादनका क्षेत्रमा दुई देशबीचका प्रविधि साटसाट गर्न, नेपालमा मकैखेतीबारे अनुसन्धान तथा विकास गर्न, नेपालमा मकै खेतीमा नयाँ प्रविधि अवलम्बन गर्न र दक्ष मानव संशाधन उत्पादन गर्न सहयोग पुग्ने डा कोइरालाले विश्वास व्यक्त गरे ।

तालीममा मकैको ब्रिडिङ प्रविधि, उत्पादन प्रविधि, उच्च गुणस्तरसहितको मकै लगाउने तरिका र मकै पाकेपछि गरिने प्रशोधन प्रविधिकाबारे छलफल, अनुभव साटासाट, अन्तरक्रिया र स्थलगत अध्ययन गरिएको छ । ४६ दिने सो तालीमको मुख्य केन्द्रविन्दू रामपुरलाई बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *