कञ्चनपुरमा आन्दोलन जारी: शिक्षण संस्था ठप्प, पठाइयो थप सुरक्षाकर्मी


“
काठमाडौँ, भदौ ७ । कञ्चनपुरमा मंगलबारदेखि शुरु भएको निर्मला पन्त हत्याको विरोध प्रदर्शनले उग्र रुप लिएको छ ।
बिहीबार पनि बिहानैदेखि प्रदर्शनकारीहरुले टायर बालेर सडक अवरुद्ध गरी अशान्ति मच्चाइरहेका छन् ।
वास्तविक हत्यारा बाहिर ल्याउन नसकेको भन्दै आन्दोलित बनेका कञ्चनपुर भीमदत्तनगरका स्थानीयमाथि प्रहरीले बुधबार पनि बल प्रयोग गरेको थियो भने प्रदर्शनकारीले प्रहरीको गाडी समेत जलाइदिएका थिए ।
कञ्चनपुरमा आन्दोलन चर्कंदै गएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको जनाइएको छ । कैलालीबाट पनि थप सुरक्षाकर्मी कञ्चनपुर पठाएको स्थानीय प्रशासनले जनाएको छ । आन्दोलनका कारण कञ्चनपुरमा बजार, शिक्षण संस्था यातायात ठप्प छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले नक्करी हत्यारा सार्वजनिक गरेर वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै स्थानीयबासीले आन्दोलन गर्दै आएका हुन् । मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई हत्या अभियोगमा सार्वजनिक गरेर वास्तविक हत्यारालाई प्रहरीले लुकाउन खोजेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् ।
प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् ।
भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका९१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
“
