कञ्चनपुरमा पाँच शिक्षकले ४९ विद्यार्थी पढाउँदै

कञ्चनपुर, भाद्र, ६ । शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् ।

पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सख्या छैन ।नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आईरहेको थियो।

हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीमध्ये पनि थोरै मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक अमरराज उपाध्ययले जानकारी दिए ।

विद्यालयको पहुँच क्षेत्र कम, निजी विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालय नजिक हुँदा विद्यार्थी अभाव भएको उनले बताए । “विद्यार्थी थप्न अभिभावकको घरदैलोमै पुग्ने गरेका छौँ, अधिकांशले नीजि विद्यालयमा बालबालिका भर्ना गर्ने गरेका छन्” उनले भने । विद्यालयमा एक स्थायी, दुई राहत र दुई बालकक्षामा पढाउने शिक्षक कार्यरत छन । विद्यार्र्थीको पढाइको स्तर निकै कमजोर रहेको पाइएको छ । “सबैलाई उत्तीर्ण गर्नुपर्ने नियम भएको, पढाइको स्तर सोचेजस्तो छैन,” उनले बताए ।

विद्यार्थी एकदमै थोरै भएकाले नजिकको सामुदायिक विद्यालयमा समायोजनका लागि पहल भइरहेको छ । नगरपालिकाका वडाध्यक्ष लालबहादुर ऐरले पढाइको गुणस्तर कमजोर र थोरै विद्यार्र्थी भएकाले छिट्टै विद्यालय समायोजन गरिने जानकारी दिए ।

वार्षिक रूपमा शिक्षकले तलब बापत रु १० लाख ९१ हजार, प्रशासनिक खर्च रु २० हजार, किताब खरिद गर्न रु १० हजार तथा छात्रवृत्ति बापत रु १२ हजार खर्च हुने गरेका छन् । यहाँ ९५ प्रतिशत विद्यार्र्थी दलित समुदायका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =