व्यवसायीले बन्द गरे कालिमाटी तरकारी बजार, बिचौलिया हटाउन समिति गठन


“
काठमाडौँ, भदौ ५ । तरकारी व्यवसायीले कालिमाटी तरकारी तथा फलफुल बजार बन्द गरेका छन् ।
सोमबार कालिमाटि बजार अनुगमनका गर्न गएका टोलीलाई व्यवसायीले नै बन्दी बनाएपछि कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा खतिवडा र व्यवसायी विमल ढुंगानालाई लिएको थियो । यसैको विरोधमा मंगलबार व्यवसायीले कालिमाटी बजार बन्द गरेका हुन् ।
तरकारी व्यवसायमा अनियमितता गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोली अनुगमनका लागि गएको थियो ।
अनुगमनका क्रममा सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट विलविजक लगायतका कागजात नभेटाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि त्यहाँका व्यवसायीले सरकारी अनुगमन टोलीलाई नै बन्दी बनाएको थियो । उनीहरुलाई केही घण्टा आफ्नो नियन्त्रणमा राखेका थिए ।
सरकारी टोलीलाई केही घण्टापछि प्रहरी गएर अनुगमन टोलीका सदस्यलाई छुटाएको थियो ।
अनुगमनमा अवरोध गर्नेमा कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहितका व्यवसायी थिए । प्रहरीले खतिवडा र व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेपछि यसको विरोधमा मंगलबार व्यवसायीले कालिमाटी बजार बन्द गरेका हुन् ।
आपूर्ति विभागको टोली मंगलबार बिहान पनि अनुगमनका लागि गएको थियो । झण्डै सात सय टन तरकारी भित्रने कालिमाटीमा मंगलबार १०० टनको हाराहारीमा मात्रै तरकारी भित्रिएको छ । व्यवसायीले थोक बजार बन्द गरेका छन् । तर बाहिरपट्टिी रहेको खुद्रा बजार भने खुलेको छ ।
बिचौलिया हटाउन अध्ययन समिति गठन
सरकारले तरकारीको बजार व्यवस्थापन गर्न र बिचौलियाहरुलाई हटाउन ठोस प्रयास गर्ने भएको छ । सोमबार कालिमाटी बजारमा अनुगनमा क्रममा भएको घटनालाई मध्यनजर गरी सरकारले समस्या समाधानमा लागि एक समति नै गठन गरेको छ ।
मध्यान्हमा कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयबीच भएको बैठकले तरकारीको बजारलाई व्यवस्थित गर्ने गरी संयुक्त प्रयास बढाउने निर्णय गरेको छ । बैठकले उत्पादक र उपभोक्ताबीच बिचौलियाको विभिन्न तह र तिनको रजगज समाप्त गर्ने गरी गर्नुपर्ने व्यवस्थाहरु सिफारिस गर्न एक समति बनाइएको हो । आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाले संयोजकत्वमा समति बनाइएको हो ।
“
