बालविवाह नियन्त्रणमा बालबालिका


“
गाईघाट, उदयपुर भदौ ४ : जिल्लाका विभिन्न भागमा बालविवाह बढेपछि अहिले ती स्थानका बालबालिका आफै बालविवाह नियन्त्रणमा सक्रिय हुन थालेका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ८ र ९ राजावास तथा चुहाडे क्षेत्रका दनुवार बस्तीमा बालविवाह बढेकाले अहिले त्यहाँका बालबालिका आफै त्यस्तो विवाह नियन्त्रण गर्न सक्रिय भएका हुन्।
राजाबासका २० वर्षीय दिपा दनुवार भन्छिन्, ‘तीन वर्षभित्र हामीजस्ता विद्यालय अध्ययन गर्ने पचासाभन्दा बढीको विवाह भइसक्यो, पढ्ने उमेरमा बालविवाह गर्ने र गराउने कार्य हुन थालेपछि अहिले आफूहरु नै त्यस विरुद्धमा लागेका हौं ।’
छ महिनाभित्र सातवटा बालविवाह आफूहरुले रोकेको जानकारी दिँदै उहाँले अहिले विद्यालय पढ्ने आफूहरू नै यस्ता अभियानमा सक्रिय हुन थालेको पनि उनी बताउँछिन्। यस्तै चुहाडेका १७ वर्षीय यशोदा दनुवारले पनि गाउँमा बालबालिकाको विवाह भएको देखेर आफूहरू पनि यस्तो अभियानमा लाग्न थालेको कुरा बताइन् ।
यसै वर्षभित्र गाउँमा चारवटा बालविवाह हुनलागेको थाहा पाएर आफैंले जिल्ला बालकल्याण समितिका दिदीलाई खबर गरेकाले सबैले मिलेर बालविवाह रोकेको यशोदाको भनाइ छ । गाउँमा अभिभावकले नै विद्यालय पढ्दै गर्दा कर गरेर विवाह गराइदिने गरेका कारण यस्तो घटना थाहा पाउने वितिकै आफूहरुले नजिकैको बालकल्याण समिति र अन्य अधिकारकर्मीलाई खबर गरेर बालविवाह नियन्त्रणमा सहयोग गरेको अर्का कक्षा ९ का अध्ययनरत छात्रा सुुशीला दनुवारले जानकारी दिइन्।
जिल्लाकै सबैभन्दा बढी बालविवाह हुने यो क्षेत्रमा अहिले बालविवाह रोक्न विद्यालय अध्ययन गर्ने बालबालिका नै सक्रिय हुन थालेपछि यो क्षेत्रमा बालविवाहमा कमी आएको जिल्ला बालकल्याण समितिकी सदस्य महेश्वरी राईले बताइन् ।
पहाडी क्षेत्रको बराह, बाँसबोटे ठानागाउँ क्षेत्रमा पनि बालविवाहका घटना वृद्धि हुन थालेकाले अहिले विद्यालय अध्ययन गर्ने बालिका यसको नियन्त्रण अभियानमा निकै सक्रिय हुन थालेका छन् ।
बाँसबोटे माविमा कक्षा १० मा अध्ययनरत छात्रा ज्ञानकुमारी राईकाअनुसार यसवर्ष आफूहरुले गाउँमा सुटुक्कै हुन लागेको तीन वटा बालविवाह रोकेको उल्लेख गर्छन् ।
गाउँमा एक १८ वर्षीय दिदीलाई अन्यत्र विवाह गराइदिन लागेको थाहा पाएर भर्खरै यो कुरा आफूहरुले जिल्ला बालकल्याण समितिमा खबर गरिदिएकाले सो विवाह पनि रोक्न सफल भएको उनले जानकारी दिए ।
जिल्लाको हँडिया र जोगीदह क्षेत्रमा पनि अहिले विद्यालय अध्ययन गर्ने छात्र तथा छात्रा सक्रिय भएर गाउँमा हुने बालविवाह नियन्त्रण अभियानमा लाग्न थालेका छन् ।
बालविवाह रोक्न सक्रिय बालबालिकाले दुई प्रकारले बालविवाह रोक्ने कार्य गरिरहेको जिल्ला बालकल्याण समितिका सदस्य–सचिव तथा महिला विकास कार्यालयका प्रमुख निर्मला कार्कीले जानकारी दिइन् ।
उनका अनुसार पहिले अभिभावकलाई सम्झाउने तर उनीहरूले चासो नदिए प्रहरी तथा जिल्ला बालकल्याण समितिमा खबर गरेर बालविवाह नियन्त्रण गरिँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालयका महिला सेलका प्रमुख उमा गुरुङकाअनुसार अहिले जिल्लामा बालविवाहमा वृद्धि हुँदै गएको र एक वर्षभित्र ५६ वटा यस्ता आफूहरुले नियन्त्रण भएको थियो।
जिल्ला बालकल्याण समितिले नै जिल्लाका विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई बालविवाह नियन्त्रणबारे प्रशिक्षण दिएपछि बालबालिकाको यस्तो क्रिाशिलता बढेको हो ।
रासस
“
