महिला हिंसाको तितो यथार्थः ‘विभेद त छ, तर हामी संवेदनहीन पनि भइसक्यौं’


“
काठमाडौँ, भदौ ४ । तराईका महिलाहरू दाइजो र बोक्सी प्रथाको आगोमा जिउँदै जलाइएका छन् भने पहाड र हिमालमा छाउपडी, झुमा, देउकी प्रथाको ओडारमा महिलाहरू थुनिएका छन् । ऐय्या ! पनि भन्न नपाइ बाँचिरहेका छन्, कतिको ज्यानै जान्छ । अहिले पनि महिलाहरू पशु सरह खाडी मुलुकको अँध्यारो कोठीमा बेचिन बाध्य छन् ।
शासन पद्धति फेरियो, हामी राजतन्त्रबाट गणतन्त्रमा आयौं । तै पनि शासन गर्ने व्यक्तिको सोच फेरिएन, सरकार चलाउँदा होस् या घर, राजनीतिक दल चलाउँदा होस् या अफिस महिलामाथि विभेद भइ नै रहेको छ । विभेद त छ, तर हामी संवेदनहीन पनि भैसक्यौं । १९ वर्षिय नारी अस्मिता क्षेत्रीले महिला हिंसाविरूद्धको आवाजमा उनले पोखेको तितो यर्थाथ हो यो ।
केही अघि कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको सामूहिक बलात्कारपछि विभत्स हत्या भएको घटना बाहिर आयो। त्यसअघि कैलालीमा यस्तै घटना भएको थियो ।
दिनहुँ श्रृंखलाबद्ध ढंगले महिला तथा बालिकामाथि हिंसा भैरहेको छ । बलात्कारपछि हत्या बढिरहेका छन्। नेपालमा हरेक दिन औषत तीन जना महिला बलात्कृत हुने गरेका छन्। अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । घटनाको तथ्यांकलाई हेर्ने हो भने प्रत्येक वर्ष १ हजारभन्दा बढी बलात्कारको शिकार भएका छन्। बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको डरलाग्दो अवस्था छ ।
बलात्कारका प्रयासका घटनाहरू हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ। पहिलेको तुलनामा बलात्कारका घटनाहरू धेरै जसो प्रहरी समक्ष पुग्ने गरेको प्रहरी रिपोर्ट देखिन्छ ।
पछिल्लो समयमा महिला हिंसा बढ्दै गईरहेको भन्दै युवाहरूले महिला हिंसाविरूद्ध सचेतना अभियान सुरू गरेका हुन् ।
राजधानीको एक कार्यक्रमको आयोजना गरि उनीहरुले महिला माथी हुने विभेदविरुद्ध एक भएर लाग्ने बताएका हुन् ।
‘नारी आधा आकाश हाम्रो बोल, महिला हिंसाविरूद्धको हाम्रो गोल’ भन्ने नाराका साथे न्याथम कलेज रविभवनमा महिला हिंसाविरूद्धको आवाज कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश नंम्वर ३ की पर्यटन, उद्योग, वनका सभापति रमा आले मगरले संविधानमा महिला अधिकार तथा सहभागिताको सुनिश्चितता गरिए पनि उनीहरुविरुद्ध अझै पनि शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक लगायत हिंसा हुने गरेकामा चिन्ता व्यक्त गर्दै यसका विरुद्ध सवै एक भएर लाग्नु पर्ने बताइन् ।
‘‘पछिलो समय महिलाहरूलाई हेरिने दृष्टिकोणमा परिवर्तन गर्न शिक्षा महत्त्वपूर्ण रहेको औल्याँउदै उनले भनिन्, ‘सरकार नै पछिल्लो समयमा महिलाहरूमाथि हुने विभेद अन्त्यका लागि शसक्त रुपमा लागि रहेको भन्दै कानुन कार्यान्वयन गर्ने पाटोमा सबैको साथ, सहयोग र खबरदारी आवश्यक छ ।” उनले भनिन् ।
समाजमा घट्ने विभिन्न खाले महिला हिंसाजन्य घटनाहरूलाई सबै नारी र पुरूषको दस्ता बनाएर लड्न सबैलाई प्रेरित गरिन् । कार्यक्रमको आयोजना गरिएको सस्थाका सदस्य सुरेन्द्र श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै भेहिकल एकेडेमीका अध्यक्ष रामनारायण घिमिरेले समाजका हरेक गतिविधिमा सबै एक भएर लागे समाज रूपान्तरणमा महत्त्वपूर्ण भुमिका युवा दस्ताले खेल्ने चर्चा गरे ।
द क्रेटरको आयोजनामा भएको कार्याक्रमा महिला हिसां सम्बन्धि गतविधि झल्कने नाटक ‘‘माईली” नाटक समाजमा भएका प्रत्यक्ष, वा अप्रत्यक्ष घटनाहरूलाई वास्तविक र यथार्थपरक चित्रण गरिएको प्रति उपस्थितिमा सहभागिहरुले आयोजक कमिटिका सदस्यहरु लाई धन्यवाद दिएका थिए ।
“
