बृद्धाश्रममा बस्ने पूर्णकुमारी थापाको संघर्ष !

काठमाडौँ, भदौ ४ । मानिसहरु व्यस्त जीवनशैली अपनाउन थालेसँगै आफ्ना बाबुआमालाई वृद्धाश्रममा लगी छाडिदिने गर्छन् । त्यसपछि वृद्धवृद्धा आफूलाई मरे समान नै ठान्न थाल्छन् ।

नेपाल सरकार समाज कल्याण परिसद अन्तर्गत रहेको पशुपति वृद्धाश्रममा पुगेर त्यहाँ बस्ने आमा पूर्णकुमारी थापालाई भेट्दा भने त्यस्तो खालको कुनै पनि वेदना बिल्कुलै पाइँदैन ।

काठमाडौँको पुरानो वानेश्वरमा आफ्नो जन्म भएको बताउने उनको कथा अरुको भन्दा बेग्लै छ । वि.सं.१९९० को भूकम्पमा परिवार गुमाएकी उनको अरुको घरमा भाँडा माझेर नै पुरै जवानी बित्यो ।

आफ्नो बाल्यकाल सम्झँदै उनले मकालुसँग भनिन्, ‘मलाई थाहा हुँदा एकजना मान्छेले मलाई हुर्काएका रहेछन्, पहिले मलाई लागेको थियो कि म त्यही घरकी छोरी हुँ ।’

सानो बेलामा आफूलाई पढ्ने निकै नै चाहना भएको र एकदिन बाह्रखरी किताब किनेर ल्याएको उनले सुनाइन् । त्यो क्षणलाई सम्झँदै उनी भक्कानिन्छिन्, ‘किताब किनेर आफू सुत्ने कोठामा राखिसकेपछि भान्छातिर लागें । पछि तल झर्दा किताब रहेनछ । आमालाई सोधें, मेरो किताब कता छ ? आमाले भन्नुभयो झ्यालबाट हेर त ! बाहिर हेर्दा किताब बलिरहेको रहेछ । अनि त्यही बेला थाहा भयो कि म त्यो घरको सन्तान होइन रहेछु ।’

त्यो घटनापछि आफूले जीवनमा हार खाँदै आएको उनले सुनाइन् । एकदिनको कुरा हो, उनका सँगै खेल्ने साथीहरुले भने कि, ‘तँ कतिदिन अरुको घरमा बसेर बाँच्छेस्, जा तेरो ठूलोबुवाको घरमा गएर आफ्नो हिस्सा मागेर बस् ।’

उनलाई त्यतिबेलासम्म आफ्नो ठूलोबुवा को हुन् र कहाँ बस्छन् भन्ने केही पनि थाहा थिएन् । साथीहरुले नै उनलाई ठूलोबुवाको घर देखाइदिए । त्यसपछि उनी ठूलोबुवाको घरमा पुगिन् ।

उनी ठूलोबुवाकहाँ पुगिन् र भनिन्, ‘बुवा मलाई पनि एउटा कोठा दिस्यो न म पनि यहीँ बस्छु नि !’ प्रतिउत्तरमा ठूलोबुवाले उनलाई छोरी मान्छे भएर आफ्नो हिस्सा माग्ने होइन ? अरुको घर धानेर बस्नुपर्छ भने । भूकम्पमा परिवार गुमे पनि आफू मात्र बाँचेकाले उनलाई ठूलोबुवाले ‘छलवाइ’ भन्ने कठोर शब्दको उच्चारण गरेपछि केही जवाफ नफर्काइ त्यहाँबाट फर्किइन् ।

फर्किसकेपछि उनले कहिले पनि आफ्नो हिस्सा माग्न नजाने निर्णय गरिन् । उनलाई पाल्ने परिवार हेटौंडाको थियो । पछि उनलाई पनि हेटौंडा नै लिएर जाने भने पनि उनी जान मानिनन् ।

उनलाई पाल्ने परिवार हेटौंडा गइसकेपछि उनले अरुको घरमा भाँडा माझेर नै जिविका चलाउन थालिन् । अरुको परिवारले छोराछोरीलाई माया गरेको देख्दा उनलाई पनि आमाबुवाको यादले सताउँथ्यो र धेरै पटक मर्न भनी विभिन्न जंगलमा जनावरले आफूलाई खाओस् भनी पुग्थिन् । तर त्यस्तो कहिल्यै पनि भएन् ।

त्यसो त उनको जंगलमा जनावर र बाघसँग जम्काभेट नभएको होइन् । उनको अगाडी एकपटक जरायो र बाघसँग जम्काभेट भएको सुनाइन् ।

‘शिवपुरीको जंगलमा बाघसँग जम्काभेट हुँदा मलाई खाओस् भनि म त्यसकै अगाडि पुगें तर, त्यसले मलाई खानुको सट्टा वास्तै नगरी आफ्नो बाटो लाग्यो । म त्यसकै पछि–पछि गएँ । त्यसले मलाई पछाडि फर्किएर मलाई हेर्दै अगाडि बढ्थ्यो । म भने त्यसको पछि–पछि नै हिँडिरहें ।’

धेरै परसम्म हिँडेपछि सडक आइपुग्यो, त्यहाँबाट नै फर्किएर हेरेर मलाई वास्तै नगरी बाटो लाग्यो र मलाई देखिरहेपछि एउटा खाली ठाउँमा गएर मलाई नै हेरी शिर झुकाएर आफ्नो बाटो लाग्यो ।’ गहभरी आँसु पार्दै उनले सुनाइन् ।

‘कयौँ रात त जंगलमा नै बिताएँ जंगली जनावरले खान्छ कि भनि’

आफ्नो पेट धान्न उनी दिनमा तीन जनाको घरमा काम गर्थिन् । उनले उनले मागेर पेट कहिले पनि पालिनन् । जुन घरमा काम गर्दा अन्तिम हुन्थ्यो, त्यही घरमा खाएर सुत्थिन् । उनलाई सुत्नको लागि थोरै ठाउँ र ओछ्यान त्यही घर मालिकले व्यवस्था गरिदिन्थे ।

उनले धेरै वटा घरमा बच्चा हेर्ने काम गरेको अनुभव सुनाइन् । त्यतिबेला नेपालमा भारतका धेरै व्यक्तिहरु परिवारसँग काठमाडौँ आएर बस्ने गर्थे । उनीहरु घर फर्कने क्रममा आफूलाई पनि साथै लैजाने आक्रह गरेर टिकट काटिसक्दा पनि गइनन् । उनलाई जिन्दगीको अन्तिम क्षणसम्म पनि यहीँ जिउने र पशुपति आर्यघाटमा खरानी भएर जाने चाहना भएको बताउँछिन् ।

‘आफ्नो कोही आफन्त र केही सम्पत्ति नहुँदा पनि मागेर भने कहिल्यै खाइनँ ।’ उनले सुनाइन् ।

आफूले श्रीपञ्चमीको दिनमा जन्मदिन मनाउने गरको बताउँदै बुढेशकाल लागिसकेपछि काम गर्ने क्रममा आफ्नो खुट्टा भाँचिदा पनि अरुको घरमा काम गरिरहेको र सोही क्रममा काम गर्न नसकेपछि शान्तिनगरस्थित राममन्दिरमा दुई दिनसम्म बस्ने क्रममा दुईजना मानिसले आफ्नो दुःख देख्न नसकी विभिन्न प्रक्रिया पुर्याएर बृद्धाश्रममा ल्याइ छाडिदिएको बताइन् ।

‘आश्रममा आइसकेपछि मैले दोस्रो जिन्दगी पाएँ ।’ उनले खुसी व्यक्त गरिन् । १५ वर्षअघि बृद्धाश्रममा आइपुगेकी उनी हाल निकै खुसी छिन् ।

मान्छेले चाहेर मर्न नसक्ने अनुभव उनले सुनाइन् । ‘वृद्धाश्रममा नआउँदाका दिन र रात मेरो रोएर नै बित्ने गथ्र्यो ।’ पहिलेका कुरा सम्झँदै उनका आँखा रसाएका देखिन्थे ।

सुरुमा उनी आश्रममा आइपुग्दा जम्मा २६० जना आश्रममा थिए । तर अहिले भूकम्पका कारण आश्रमको एउटा भवन नै भत्किँदा जम्मा १७० जना बुवा–आमा मात्र आश्रममा छन् ।

सरकारले कोही नहुने असहायलाई संरक्षण दिनु निकै नै राम्रो रहेको उनी बताउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *